वाणिज्य बैंकहरुको नाफा ४२.३० अर्ब माथि, आरबिबिलाई उछिन्दै प्राइम कमर्सियल अगाडि

Prabhu

काठमाडौं ।वाणिज्य बैंकहरुले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्ष २०८०–८१ को ८ महिना अर्थात फागुन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले कमाएको नाफा हो । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ रहेकोमा पछिल्लो महीना मात्रै बैंकहरुले ६ अर्ब ८१ करोड ४५ लाख रुपैयाँले नाफा बढाएका हुन् ।

सञ्चालनमा रहेका २० वटा बैंकहरुमध्ये नाफामा नबिल ‘नम्बर वान’ बन्दा चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले दोस्रो स्थान सुरक्षित गरेको छ । राष्ट्रिय वाणिज्य बैंक (आरबिबि) लाई पछि पार्दै फागुन मसान्तसम्ममा प्राइम कमर्सियल बैंक नाफाका आधारमा तेस्रो सूचीमा उक्लिएको छ । माघमा प्राइम चौंथो स्थानमा रहेको थियो । फागुन मसान्तसम्ममा आरबिबि चौथो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पाँचौं स्थानमा रहेको छ । यसैगरी नाफाका आधारमा एनआईसी एशिया छैठौं, एभरेष्ट बैंक सातौं र स्ट्याण्डर्ड चार्टर्ड बैंक आठौं स्थानमा रहेको छ ।

यस्तै नाफाका आधारमा क्रमश: कृषि विकास बैंक, हिमालयन, एनएमबि, लक्ष्मी सनराइज, सिद्धार्थ, सानिमा, प्रभु, कुमारी, नेपाल बैंक, सिटिजन बैंक इन्टरनेशनल, माछापुच्छ्रे र नेपाल एसबिआई बैंक रहेका छन् ।

सबैभन्दा धेरै नाफा आर्जन गरेको नबिल बैंकले चालु आवको आठ महीना अवधिमा ४ अर्ब ७२ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, फागुन मसान्तसम्ममा प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफामा पाँचौं स्थान ओगटेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस अवधिमा एनआईसी एशिया बैंकको २ अर्ब ५४ करोड २४ लाख ४० हजार रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख ७० हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड ९६ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आवको आठ महीनामा ८ ओटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका हुन् ।

यस्तै, नाफाको सूचीमा नवौं स्थानमा रहेको कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख ६० हजार रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख ६० हजार र एनएमबि बैंकले १ अर्ब ९२ करोड ५२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

समीक्षा अवधिको ८ महीनामा लक्ष्मी सनराइज बैंकले १ अर्ब ८२ करोड ६ लाख ८० हजार, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख ४० हजार रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख २० हजार र प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा पाँच ओटा वाणिज्य बैंकको नाफा साढे एक अर्बभन्दा कम छ । यस अवधिमा कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख ७० हजार रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख ५० हजार रुपैयाँ, सिटिजन बैंक इन्टरनेशनलले १ अर्ब २२ करोड ६५ लाख ३० हजा रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४८ लाख ४० हजार रुपैयाँ र नेपाल एसबिआई बैंकले सबैभन्दा कम १ अर्ब ८० लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार