रोकिएन युवा पलायन ५ लाख बढीले लिए श्रम स्वीकृति

Prabhu

काठमाडौं । मुलुकमा रोजगारी नहुदाँ वाध्य भई विदेश जाने युवाको संख्या दिनानु दिन बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिना(साउन देखि चैतसम्म) को अवधमिा ५ लाख ३९ हजार ६८ जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा ७० हजार ९ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा ६५ हजार ६ सय ५८ जना, माघमा ६२ हजार १  सय ४७ जना, पुसमा ६५ हजार ८ सय १३ जना, मंसिरमा ७१ हजार २ सय ७६ जना, कात्तिकमा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै असोजमा ५६ हजार २ सय ३५ जना, भदौमा ५० हजार ८ सय ८४ जना र साउनमा ५५ हजार ५ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मासिकरूपमा हेर्दा श्रम स्वीकृति लिनेको संख्यामा थपघट भए पनि समग्रमा बढेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए ।

विभागका अनुसार चालू आर्थिक वर्षको चैत महिनामा ६४ हजार २ सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ जना महिला गरी ७० हजार ७ सय ७० जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ । उनीहरूले व्यक्तिगत तथा संस्थागत तवरबाट श्रम स्वीकृति लिएका हुन् । चैत महिनामा मेनपावरबाट ३३ हजार ३ सय ६९ जना, व्यक्तिगत प्रयासमा ८ हजार ६ सय १८ जना, सरकारमार्फत ५ सय ३ जना र बिदामा आएर फेरि नयाँ श्रम स्वीकृति लिनेमा २८ हजार ४ सय ४३ जना छन् । लामो समयदेखि गन्तव्य मुलुक बनेको मलेसिया र खाडी मुलुक असुरक्षित मानिँदै आएको छ । यही कारण नेपाली श्रमिकले गन्तवय फेर्दै आएको विभागका अधिकारीहरू बताउँछन् । नेपाली श्रमिकहरू दक्षिण कोरिया, जापान, युरोपेली मुलुकहरू र अमेरिकाका लागि श्रम स्वीकृति लिनेगरेका छन् । यसका अलवा अफगानस्तिान, बंगलादेश, चीन, अष्ट्रेलिया, क्यनाडा, डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, फिनल्याण्ड, अमेरिका जानका लागि सयौँ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसा मलेसियाका लागि १२ हजार६ सय २ वटा, संयुक्त अरब इमिरेट्सका लागि १७ हजार ८ सय १८ वटा, साउदी अरबियाका लागि १३ हजार ५ सय ९५ वटा, कतारका लागि ११ हजार २ सय ४ वटा, कुवेतका लागि ४ हजार ७६ वटा, बहराइनका लागि ९ सय ६४ वटा र ओमानका लागि ६ सय ६६ वटा श्रम स्वीकृति वितरण गरिएको छ । त्यस्तै जापानका लागि एक हजार तीन सय ५१ वटा र दक्षिण कोरियाका लागि छ सय ५७ वटा श्रम स्वीकृति वितरण गरिएको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार श्रम स्वीकृति लिनेमध्ये ५० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकका लागि रहेका छन् । बाँकी दक्षिण कोरिया र युरोपेली मुलुकहरूका लागि छन् । चैत महिनामा ७७ वटा जिल्लाबाटै श्रम स्वीकृति लिएको उनको भनाइ छ । सबैभन्दा धेरै मधेश र कोशी प्रदेशका नागरिकले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार