राष्ट्रिय गौरव आयोजनाको बजेट अन्यत्र बाँडियो, सीमाभित्र रहन अर्थ मन्त्रालयलाई चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बटेज अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तरण गरेको छ। ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ अन्य ५१ आयोजनाहरुमा रकमान्तरण भएको आइतबार सार्वजनिक महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३६९ मा राष्ट्रिय गौरवका आयोजनामा विनियिोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा उक्त प्रावधान विपरीत ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब ७८ करोड ७५ लाख राष्ट्रिय गौरव बाहेकका अन्य ५१ ऋायोजनाहरुमा रकमान्तर गरेको छ। ‘कानुनको सीमाभित्रमा रहेर मात्र रकमान्तर गर्नुपर्दछ,’ महालेखापरीक्षकको प्रतिवेदनमा लेखिएको छ।

आव २०७९/८० को कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ मध्ये ९५ अर्ब २९ करोड ७४ लाख रुपैयाँ रकमान्तर भएको छ। विनियोजित बजेटको कुल ५.३१ प्रतिशत रकम रकमान्तर भएको छ। सो मध्ये असारमा २३ अर्ब १० करोड ६५ लाख र असारको अन्तिम हप्तामा १३ अर्ब ८१ करोड ९९ लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरिएको छ।

शुरुमा बजेटमा व्यवस्था नभएका विभिन्न १६ कार्यक्रममा रकमान्तर गरी १५ अर्ब ४९ करोड ९० लाख बजेट कायम गरेकोमा ८ अर्ब २७ करोड ६० लाख रुपैयाँ खर्च गरिएको छ। यो रकमान्तर गरिएका कार्यक्रमको खर्च ५३.४० प्रतिशत छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार