काठमाडौं । कृषिमा आधारित मुलुक नेपालमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३ लाख मेट्रिक टन भन्दा धेरै धान आयात भएको छ।
सरकारले आज असार १५ गते २१ औं धान तथा रोपाई दिवस धुमधामका साथ मनाउँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, गृह मन्त्री रवि लामिछाने र कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साह लगायत उच्च पदस्त व्यक्ति र किसानको सहभागितामा चितवन रत्ननगर बछौलीको ढेड बिगाह जग्गामा धान रोप्ने छन्।
सरकारले आज ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदै छ। धान नेपालको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको छ। नेपालमा धानको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ। धानमा अन्तर्निहित विवि महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाईै प्रवर्द्धन गर्न २०६१ सालदेखि नियमित रुपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ।
धान दिवस मनाउका लागि सरकारले प्रत्येक वर्ष करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ। तर पछिल्लो पाँच वर्षको नेपालमा धानको उत्पादनको तथ्यांक हेर्ने हो यसमा कुनै उपलब्धि भएको देख्न सकिँदैन। यो पाँच वर्षको अवधिमा नेपालमा अधिकतम ५६ लाख र न्यूनत ४९ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा देखिन्छ। पछिल्लो पाँच वर्षको धान उत्पादनको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/८८ सर्वाधिक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। भने सबैभन्दा कम आर्थिक वर्ष २०७९/८० मा ४९ लाख ४६ हजार १४१ मेट्रिक टन धान उत्पादन भएको थियो।
कृषिमा आधारित मुलुक नेपालमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३० लाख मेट्रिक टन धान आयात भएको छ। चालु आवको जेठ मसान्तसम्म ३ लाख ७४ हजार १७ मेट्रिक टन धान आयात भएको छ। गत आर्थिक वर्ष २०७९/८० मा ५ लाख ५७ हजार ७५२ मेट्रिक टन , आर्थिक वर्ष २०७८/७९ मा ५ लाख ५१ हजार ७४९ मेट्रिक टन, आर्थिक वर्ष २०७७/७८ मा ६ लाख ९८ हजार ६१ मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ४८ हजार ३३६ मेट्रिक टन धान आयात भएको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकका अनुसार नेपालमा कृषिमा आश्रित परिवार ५०.१ प्रतिशत छ। नेपालमा आधाभन्दा बढी जनसंख्या कृषिमा आधारित भए पनि प्रमुख खाद्य बालीको रुपमा रहेको धानको उत्पादन भने अपेक्षाकृत रुपमा बढ्न सकेको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. सुरज पोखरेलका अनुसार नेपालमा धान खेती हुने क्षेत्र मासिने क्रमम बढेकाले अपेक्षाकृत रुपमा उत्पादन बढ्न सकेको छ। ‘धानको उपादकत्त्व बढि रहेको छ। धान खेती हुने जमिन घट्दो छ। जमिन घटेकाले उत्पादन वृद्धि हुन नसकेको हो,’ डा. पोखरेलले भने।
तराई तथा पहाडका धान खेती हुने अधिकतम जमिनमा मोटरबाटो पुगेको छ। मोटर बाटो पुगेसँगै तराईका जमिन पल्टिङ गरेर घर जग्गामा परिणत भएका छन्। भने पहाडमा भिरालोमा भएका बस्तीहरु धान खेती हुने समथर स्थानमा स्थान्तरण भएका छ। उब्जाउ हुने जग्गा घट्दा त्यसको प्रभाव धान उत्पादनमा परेको डा. पोखरेल बताउँछन्।
‘अधिकतम धान खेती टुक्रा जग्गामा हुने गरेको छ। सानो क्षेत्रमा खेती गर्दा लाभ नहुने भएकाले किसान अन्य पेशा व्यवसायमा लाग्ने क्रमम पनि बढ्दो छ। उपादकत्त्व बढाउनका लागि ठूला फाटहरु आवश्यक पर्छ,’ उनले भने, ‘तर हाम्रो खेती योग्य जमिन सडक सञ्चालमा जोडिएकाले घर घडेरीमा रुपान्तरण भइरहेको छ।’
टुक्रे जग्गाका कारण विगतमा धान खेती हुने गरेका जमिनहरु पछिल्लो समय बाँझै रहने गरेका छन्। विगतमा राम्रै धान खेती हुने गरेको गोरखाको दरौदी नदी किनारमा रहेको जग्गा हाल ३० देखि ३२ प्रतिशत जग्गा बाँझो रहेको उनले उद्दारणको रुपमा प्रस्तुत गरे। सानो टुक्रिएको जग्गामा खेती गर्दा किसानले लगानी अनुरुपको लाभ पाउन सकेका छैनन्। जसका कारण भएको खेत बाँझो छाडेर अन्य व्यवसायमा लाग्न बाध्य छन्।
नेपालमा धानको उत्पादन नबढ्नुको प्रमुख कारणको रुपमा खुम्चदो धान खेती, जग्गा बाँझो रहनु र खेती योग्य जमिन घर घडेरीमा परीणत हुन हो। खेती योग्य जमिनहरुलाई चक्लाबन्दी गरेर ठूला फार्महरुमा विकास नगरेसम्म उत्पादन बढ्ने सम्भावना नरहेको उनको दाबी छ।
धान उत्पादन र आयातको अवस्था