बैंकको ब्याजदर निरन्तर घट्दो अवस्थामा

Prabhu

काठमाडौं । पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंकको ब्याजदर घट्दो क्रममा रहेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बैंकको आधार दर १.३४ प्रतिशत विन्दुले घटिसकेको छ भने कर्जाको भारित औषत ब्याजदर १.४६ प्रतिशत विन्दुले घटिसकेको छ ।

बैंकको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार भने बढ्न सकेको छैन । गत साउनमा बैंकको औषत आधार दर १०.११ रहेकोमा फागुनसम्ममा क्रमशः घट्दै ८.७७ प्रतिशतमा झरेको छ । यता कर्जाको भारित औषत ब्याजदर गत साउनमा १२.२४ प्रतिशत रहेकोमा फागुनसम्ममा १०.७८ प्रतिशतमा झरिसकेको छ । यस्तै कर्जा ब्याजदर भदौमा १२.२३ प्रतिशत , असोजमा १२.११ प्रतिशत , कार्तिकमा १२.९६, मंसिरमा ११.८५प्रतिशत , पुसमा ११.३८ प्रतिशत र माघमा ११.०८ प्रतिशत रहेको थियो ।

गभर्नर महाप्रसाद अधिकारीले गत साता एक सार्वजनिक कार्यक्रममा चालु आवमा ब्याजदर निरन्तर घट्दै गएको बताएका थिए । बाह्य क्षेत्रमा आएको सुधारसँगै बैंकिङ प्रणालीमा तरलता बढेको र अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उनको भनाइ थियो । उनले समग्र मागमा कमी आएका कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेको समेत बताए । ‘निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका छन् । शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ,’ गभर्नर अधिकारीले भनेका थिए।

गत आवको पुसमा वाणिज्य बैंकको भारित औषत आधार दर १०.९१ प्रतिशत विन्दु पुगेको थियो । त्यो समयमा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर बढेर उच्च विन्दुमा पुगेको थियो । तर, पछिल्लो अवस्थामा भने फरक रहेको छ । फागुनमा वाणिज्य बैंकको कर्जाको भारित औषत आधारदर ८.७७ प्रतिशतमा झरेको छ । कर्जाको ब्याजदर घट्दै जाँदा पनि बैंकबाट हुुने कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिँदै गएको छ । निजी क्षेत्रले लगानी गर्न सकेको छैन भने घरजग्ग कारोबार समेत खुम्चिन पुग्दा बजार चलायमान हुन सकेको छैन , जसले गर्दा कर्जा प्रवाह बढ्न सकेको छैन ।

यद्पि कर्जाको ब्याजदरमा कम गर्दै जाँदा ऋणको माग बढ्ने प्रक्षेपण गरिए पनि हाल त्यसो हुन सकेको छैन । तर, ब्याजदर घट्दा पनि कर्जाको माग बढ्न सकेको छैन ।  राष्ट्र बैंकले वाणिज्य बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीच भारित औषत अन्तर (स्प्रेड दर) ४.४ प्रतिशतबाट घटाएर गत असारदेखि ४ प्रतिशतमा कायम गरेको छ । जसकारण कर्जाको ब्याजदर घटेको छ । साथै निक्षेपको ब्याजदर घटेर बैंकहरूको औषत आधार दर घटेकाले पनि कर्जाको ब्याजदर घट्न पुगेको हो । जानकारहरूले बैंकको औसत आधार दर अझै केही घट्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार