नेपाल टेलिकमले तिर्यो लाइसेन्सको २० अर्ब, नयाँ लाइसेन्सको अन्यौलता कायम

Prabhu

काठमाडौं ।सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल सेवाको तेस्रो नवीकरण (लाइसेन्स) बापतको रकम भुक्तानी गरेको छ। नेपाल टेलिकमले २५ वर्षे लाइसेन्स अवधि सकिन्न लाग्दा एकमुष्ट नवीकरण शुल्क बुझाएको हो।

नवीकरण शुल्क बापत यस अघि नेपाल टेलिकमले १८ करोड ९० लाख रुपैयाँ बुझाई सकेको थियो। अहिले यस अघि तिरेको रकम घटाएर नवीकरण शुल्क बुझाइएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।

नियमक नेपाल दूरसञ्चार प्राधिकरणले तेस्रो नवीकरणको बापतको रकम एकमुष्ट तिर्न पत्र पठाएको थियो।

सोसँगै नेपाल टेलिकममको सञ्चालक समितिले वैशाख १३ गते तेस्रो नवीकरण शुल्क एकमुष्ट तिर्ने निर्णय गरेको थियो।

मंगलबार नेपाल टेलिकमले ५ वर्षको नवीकरण शुल्क बुझाएको हो। टेलिकमको २५ वर्षे लाइसेन्स अवधि यहि वैशाख २८ गते सकिँदैछ। नेपाल टेलिकमले २०५६ वैशाख २९ गते मोबाइल सेवाको लाइसेन्स प्राप्त गरेको थियो। नेपाल दूरसञ्चार ऐन, २०५३ मा लाइसेन्सको अवधि २५ वर्ष हुने व्यवस्था छ।

तर नेपाल टेलिकमको लाइसेन्स अवधि एक साताभन्दा कम समय बाँकी रहन्दा पनि सरकारले नयाँ लाइसेन्सको सम्बन्धमा कुनै निर्णय गरेको छैन।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नयाँ लाइसेन्सका सम्बन्धमा सरकारलाई सुझाव दिएको बताए। उक्त सुझाव आन्तरिक भएको भन्दै उनले थप बताउन चाहेनन्।

बोर्डले एकमुष्ट तेस्रो नवीकरण शुल्क बुझाउने निर्णयसँगै आन्दोलित भएका टेलिकमका चार कर्मचारी संगठनले आन्दोलन फिर्ता लिएको विज्ञप्ति मार्फत जानकारी दिएका छन्। नयाँ लाइसेन्सका सम्बन्धमा सञ्चार मन्त्रालयले आवश्यक समन्वयन एवं सहजिकरण गर्ने प्रतिबद्धता जाहेर गरेकाले आन्दोलन फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ।

साथै कर्मचारीहरुले विभिन्न समयमा राख्दै आएको माग र बोर्डबाट निर्णय भएका तर कार्यान्वयनका चरणमा रहेका कर्मचारीका सुविधा सम्बन्धी व्यवस्था अघि बढ्ने भएसँगै कर्मचारी संगठन आन्दोलन फिर्ता लिन सहमत भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार