काठमाडौं । नेपालमा प्रशस्त मात्रामा दक्ष विदेशी श्रमिक रहेका छन् । विशेष गरी उनीहरु नेपालमा विभिन्न परियोजनाहरुमा काम गर्नका लागि नेपाल आएको हुन् । हालसम्म २१ हजार १ सय ६२ जना दक्ष विदेशी श्रमिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएको श्रम तथा व्यवसाजन्य सुरक्षा विभागले जनाएको छ । जसमा १८ हजार ३ सय १३ जना पुरुष र २ हजार ५ सय ४९ जना जना महिला रहेका छन् ।
विभागका अनुसार मुलुकमा सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएकोले उक्त संख्यामा विदेशी श्रमिक नेपालमा देखिएको हो । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् । पछिल्लो समय नेपालमा काम गर्ने विदेशी श्रमिकमा बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या बढी रहेको छ । विभागका अनुसार हालसम्म सबैभन्दा बढी नौ हजार छ सय ७५ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । जसमध्ये श्रम स्वीकृति नवीकरण गर्ने तीन हजार तीन सय ४५ जना र नयाँ श्रम स्वीकृति लिने छ हजार तीन सय ३० जना चिनियाँ श्रमिक रहेका छन् । बेलायतका पाँच सय ९१ जना, अमेरिकाका चार सय ३२ जना, दक्षिण कोरियाका तीन सय ३० जना, भारतका दुई सय ५९ जना, जापानका तीन सय १३ जना, अष्ट्रेलियाका एक सय ५९ जना, श्रीलङ्काका एक सय ३८ जना, जर्मनीका एक सय २३ जना, फ्रान्सका एक सय सात जना, इटालीका ९५ जना, फिलिपिन्सका एक सय चार जना र बङ्गलादेशका ७२ जना श्रमिकले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, इटलीका ९५ जना क्यामरुनका ६४ जना, क्यानडाका ८० जना, ब्राजिलका ३५ जना, फिनल्यान्डका ३२, घानाका ३२ जना, डेनमार्कका २१ जना, इजिप्टका २० जना, केनियाका सात जना, उत्तर कोरियाका आठ जना र काजकस्तानका एक जना श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।