Global College

बुढानीलकण्ठमा रवि र बालेनबीच पाँच घण्टा लामो भेटवार्ता,के भयाे छलफल ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ। बिहीबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि आगामी निर्वाचन र सरकारको कार्यसम्पादनसम्मका विषयमा छलफल भएको हो।

सभापति लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, भ्रमणका क्रममा भएका छलफल तथा प्राप्त उपलब्धिबारे कुराकानी भएको थियो। प्रधानमन्त्री शाहले भारत भ्रमणका विषयमा लामिछानेलाई जानकारी गराएका थिए।

त्यसैगरी, आगामी निर्वाचनको तयारी र राजनीतिक परिस्थितिबारे पनि दुवै नेताबीच विचारविमर्श भएको सचिवालयले जनाएको छ।

रास्वपाले सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण अभियानका विषयले पनि भेटमा स्थान पाएको थियो। पार्टीको संगठनात्मक गतिविधि र प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेबारे छलफल भएको बताइएको छ।

भेटमा सरकारका कामकारबाही, विभिन्न मन्त्रालयको कार्यसम्पादन तथा मन्त्रीहरूको भूमिकाबारे समेत समीक्षा भएको जनाइएको छ। यसका अतिरिक्त अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुवै नेताबीच कुराकानी भएको थियो।

लामो समयसम्म चलेको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको लामिछानेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीच भएको यो भेटलाई सरकारको कार्यसम्पादन, पार्टीको आगामी रणनीति र निर्वाचनको तयारीका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

NECO

Leave Your Comment

Related News