सिजीले गर्यो किर्गिस्तानको टेलिकम कम्पनीमा लगानि

Prabhu

काठमाडौं । नेपालमा मुख्यालय रहेको चौधरी समूहले मध्य एशियाली मुलुक किर्गिजस्तानमा दूरसञ्चार कम्पनीमा लगानी  गरेको छ। सिजी कर्प ग्लोबल अन्तर्गतको सिजी सेल टेक्नोलोजीमार्फत् चौधरी समूहले बिलाइन किर्गिस्तानको ५०.१ प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो।

इन्भेष्टिङ्ग डट कमका अनुसार बिलाइनको मुख्य लगानीकर्ता भियोन (VEON) ले किर्गिजस्तानबाट बाहिरिने घोषणा गर्दै आफ्नो बहुसंख्यक सेयर चौधरी समूहको सहायक कम्पनी सिजी सेल टेक्नोलोजीजलाई बिक्री गरेको हो । भियोन नेदरल्याण्डमा आधारित  दूर सञ्चार सेवा प्रदायक कम्पनी हो ।

सिजीले बिलाइनले सन् २०२३ गरेको आयकर र ह्रासकट्टी भन्दा पहिलेको आयभन्दा ३.४ गुणा बढी मूल्यमा खरिद गरेको दूरसञ्चार सम्बद्ध अनलाइन समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । भियोनको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार बिलाइन किर्गिजस्तानको आयकर र ह्रास कट्टी पूर्वको आय २ करोड २० लाख अमेरिकी डलर थियो । यसको ५०.१ प्रतिशत हिस्साको आधारमा सौदाको अनुमानित मूल्य ३ करोड ७५ लाख अमेरिकी डलर(हालको विनिमय दर अनुसार ५ अर्ब नेपाली रुपैयाँ) छ। यो कम्पनीमा बाँकी ४९.९ प्रतिशत शेयर स्वामित्व भेर्नी क्यापिटलको छ।

“हामी किर्गिजस्तान टेलिकम्युनिकेसन बजारमा बिलाइन किर्गिजस्तानको बहुमत शेयर खरिद गरेर एक प्रमुख लगानीकर्ता बन्न पाउँदा धेरै खुसी छौं,” सिजी कर्प ग्लोबलले प्रेस विज्ञप्तीमार्फत् भनेको छ। यद्दपी यो खरिद सम्झौता नियामक निकायबाट अनुमोदन हुन बाँकी छ।

चौधरी समूह अन्तर्गत यसअघि नै माल्डोभामा समेत मोबाइल सेवा प्रदायक कम्पनी रहेको छ। सिजीले दुई वर्ष अघि मात्र माल्डोभामा मोल्डसेल टेलिकम कम्पनीको सबै शेयर खरिद गरेर यूरोपेली मुलुकको दूरसञ्चार सेवामा आफ्नो उपस्थित दर्ज गरेको हो । नेपालमा एकीकृत मोबाइल लाइसेन्सका लागि लामो समयदेखि दौडधुप गरेको चौधरी समूहले एसटिएम टेलिकम सञ्चार प्रालि नामक दूर सञ्चार कम्पनीको लाइसेन्स गत वर्ष गुमाएको थियो । समय छँदै दूरसञ्चार लाइसेन्स नविकरणका लागि निवेदन दिन चुक्दा लाइसेन्स गुमाउनु परेको थियो ।

वीओएनका सीईओ कान तेर्जियोग्लुले विगत दुई वर्षमा बेलाइन किर्गिजस्तानले एकाइको “लगातार सात त्रैमासिक दोहोरो अंकको राजस्व वृद्धि, उच्च पहुँच र फोरजी सेवाहरूको गुणस्तर र डिजिटल प्रस्तावहरूमा ठोस आधारहरू” उल्लेख गरे। यसका बावजुद, भियोनको किर्गिजस्तान व्यवसायले सन् २०२३ मा ५ करोड ६० लाख अमेरिकी डलर बराबरको मात्र कारोबार गर्यो, जुन भियोनको अन्तर्राष्ट्रिय उद्यममध्ये मध्ये सबैभन्दा न्यून रहेको थियो। यसको विपरीत, कम्पनीको अर्को सबैभन्दा सानो बजार, उजबेकिस्तानले सोही अवधिमा  २६ करोड ८० लाख अमेरिकी डलर बराबरको कारोबार गरेको थियो ।

भियोनले युक्रेन, पाकिस्तान, काजाकिस्तान, बंगलादेश, उजबेकिस्तान र जर्जियामा पनि मोबाइल नेटवर्कहरू सञ्चालन गर्छ । सन् २०२२ को शुरुवातमा युक्रेनमाथि रूसको आक्रमण पछि, अपरेटरले रूसबाट आफ्नो लगानी झिक्यो । यसैगरी यो कम्पनीले युक्रेनमा आफ्नो समस्याग्रस्त केभिभस्टारको सञ्चालनलाई बलियो बनाउने प्रक्रियामा छ, पुनर्निर्माण र बिस्तार गर्न ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार