बागमती भ्रमण वर्ष २०२४ को प्रमोसनल र्याली सुरु

काठमाडौं । बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा शुरु भएको सो र्यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको हो ।

र्यालीका सहभागीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन गर्ने र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको वारेमा विवरण संकलन गर्नेछन् ।

सोमबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट प्रारम्भ भएको र्यालीमा तीन वटा गाडी र १३ जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । नासा फाउन्डेसनका अध्यक्ष कृष्णसिंह बस्नेत र नासा नेपालका अध्यक्ष दशरथ रिसालले र्यालीमा सहभागीहरुलाई विदाई गरे।

सो अवसरमा अध्यक्षद्वयले सहभागीहरुले पर्यटकीय क्षेत्रको वारेमा राम्रो अध्ययन गर्ने र यसबाट बागमती प्रदेशमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गर्दै कार्य सफलताको शुभकामना प्रदान गरे।

सहभागीहरु पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेका छन् । आगामी दिनमा उनीहरु दोलखा भिमसेन, सिन्धुलीगढी, मकवानपुर गढी, सौराहा, त्रिशुली नदी र्याफ्टिङ, नुवाकोट दरवार, मैलुङ झरना, देवीघाट, मार्खु आदि स्थानमा पुग्ने छन् र ललितपुरको गोदावरीमा आएर र्याली समापन हुनेछ ।

सहभागीहरुले संकलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा प्रस्तुतिकरण गरिने र प्राप्त सुझावहरु समेटी अन्तिम प्रतिवेदन तयार गरिने छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तायार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत ड्राइभ टुरिजमका गन्तव्यहरुलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने छ ।

यस कार्यक्रमले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान हुनेछ । यसले देशको राजधानीबाट नजिकै रहेका अधिकांश पर्यटकीय स्थलको पहिचान गरी उजागर गर्न साथै प्रवर्धन गर्न टेवा पुग्ने छ । नजिकै रहेका तर ओझेलमा परेका पर्यटकीय स्थललाई ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ अर्थात सामान्य गाडी तथा मोटरसाइकलमै अवलोकन गर्न सकिने विषयलाई सहज तरिकाले प्रस्तुत एवं प्रवर्धन गरिने छ, जसले गर्दा बागमती प्रदेशको पर्यटकीय क्षेत्रमा उल्लेखनिय पर्यटक आउने र दशकै पर्यटन क्षेत्रमा टेवा पुग्नुका साथै अर्थतन्त्रमा पनि सघाउ पुग्ने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार