इन्टरनेट र स्मार्टफोन बिना भुक्तानी सेवा सञ्चालन गर्ने उद्देश्यमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्टरनेट र स्मार्टफोन बिना भुक्तानी सेवा सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल राष्ट्र बैंकको ‘चौथो रणनीतिक योजना २०२२ देखि २०२६’ मा उक्त सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको हो । जसलाई ‘अफलाइन’ भुक्तानी प्रणाली समेत भनिने उक्त सेवा सञ्चालनको उद्देश्य सहितको अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) अध्ययन प्रतिवेदन राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको छ ।

प्रतिवेदनले यूएसएसडी मा आधारित भुक्तानी प्रणालीमार्फत्  इन्टरनेट वा स्मार्टफोनविना पनि भुक्तानी सेवाहरु उपयोग गर्न सकिने भएकोले विभिन्न मुलुकमा उक्त प्रणालीलाई अफलाइन भुक्तानी प्रणालीको रूपमा परिचालन गरी वित्तीय समावेशीकरण एवम् विद्युतीय भुक्तानीमा पहँुच अभिवृद्धि गर्न प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ । यस प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार ( यूएसएसडी गेटवेय) दूरसञ्चार सेवा प्रदायकहरुको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरिवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामकीय व्यवस्थाबीच समन्वय हुनुपर्ने आवश्यकता देखिन्छ ।प्रतिवेदनले नगद प्रवाहमा आएको कमीलाई अवसरको रुपमा लिँदै ग्रामीण क्षेत्र तथा इन्टरनेटको पहुँचमा पुग्न नसकेको क्षेत्रलाई समेत यो सेवाबाट बैंकिङ क्षेत्रमा समेट्न सकिने निष्कर्ष निकाल्दै यूएसएसडी पेमेन्ट सिस्टमलाई स्तरोन्नति गर्दै कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।

आधुनिक विद्युतीय भुक्तानीका उपकरणहरु प्रयोगमा आउनुअघि उक्त प्रणालीको सुरुआत गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपालको सन्दर्भमा यूएसएसडीमा आधारित भुक्तानी प्रणाली सन् २०२१ बाट सुरु भएको हो भने तर एपमा आधारित भुक्तानी प्रणाली सोभन्दा अगाडि नै सन् २०१० बाट सुरु भएको हो । सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो। नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा सञ्चालित नमस्ते पेबाट भुक्तानी महंगो र झन्झटिलो हुँदा सेवा प्रभावकारी नभएको भन्दै कम लागतमा भुक्तानी गर्न सकिने व्यवस्था गर्न भनेको छ।

बढ्दो मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङसँगै नेपाल साइबर आक्रमणको खतरा पनि बढ्दै जाँदा यस किसिमको भुक्तानीले लाभग्राहीको वित्तीय सुरक्षामा मद्दत पुर्‍याउने अध्ययनको निष्कर्ष छ। नेपाल अहिले साइबर सेक्युरिटी इन्डेक्समा १०९औँ स्थानमा छ। वित्तीय भुक्तानीलाई अफलाइन केन्द्रित बनाउँदा साइबर सेक्युरिटीको वरीयतामा समेत सुधार हुने भन्दै सरकारले नै यस प्रकारको भुक्तानीलाई प्राथमिकताका साथ अगाडि बढाउन खोजेको राष्ट्र बैंकको निष्कर्ष समेत रहेको छ ।

नेपालका ७३ प्रतिशत घरपरिवारले सामान्य मोबाइल फोन प्रयोग गर्ने र ७२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्दै आएका छन्। कुल ६६ लाख ६६ हजार घरपरिवारले स्मार्ट फोनसँगै सामान्य फोन पनि प्रयोग गरिरहेकाले अफलाइनमा आधारित भुक्तानी सेवाको सम्भावना बढी रहेको अध्ययनले देखाएको छ। यस किसिमको सेवाले वित्तीय सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रमा मानिसहरुलाई समेत डिजिटल बैंकिङमा समेट्न सकिनेछ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार