घरजग्गा कारोबार घट्दा राजस्व संकलनमा कमी

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा त्यसको असर घरजग्गामा समेत परेको छ । अझै जग्गा वर्गीकरण पश्चयात ओरालो लागेको घरजग्गा कारोबार उठ्न नसक्दा राजस्व संकलनमा समेत गिरावट आएको सरकारी अधिकारीहरु बताउछन् ।

भदौ महिनाको तुलनामा असोजमा घरजग्गा कारोबार सामान्य घटेको छ। असोज महिनामा राजस्व संकलन एक करोड रपैयाँले घटेर ३ अर्ब ८ करोड रुपैयाँ भएको हो।

यसअघि भदौ महिनामा १ लाख १५ हजारवटा किनबेचमार्फत ३ अर्ब ९ करोड राजस्व संकलन भएको थियो। यो सँगै राजस्व संकलन पनि १ करोड रुपैयाँले घटेको हो।

गत असोजमा प्राप्त राजस्वको तुलनामा भने करिब १ अर्ब रुपैयाँ कम हो। गत वर्ष असोजमा ४ अर्ब रूपैयाँ राजस्व प्राप्त भएको थियो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोज महिनामा कुल १ लाख ८ सय पटक घरजग्गा किनेबच भएका छन्। जसमा सेवाकरमार्फत २६ करोड ८१ लाख रुपैयाँ संकलन हुँदा १ अर्ब ९४ करोड रुपैयाँ रजिट्रेसनबापत शुल्क संकलन गरेको छ।

यस्तै पूँजीगत लाभकरतर्फ १ अर्ब ११ करोड रुपैयाँ संकलन हुँदा विलम्ब शुल्कतर्फ ३ लाख रुपैयाँ संकलन भएको छ।

राजस्व संकलनका आधारमा सबैभन्दा धेरै काठमाडौं भूमिसुधार तथा मालपोत कार्यालयमा छ। यो कार्यालयबाट मात्रै घरजग्गा कारोबारमार्फत ३० करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

ललितपुर कार्यालयबाट भने ३० करोड २५ लाख रुपैयाँ राजस्व संकलन हुँदा भक्तपुरबाट भने २५ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

उपत्यकाबाहिर भने सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय चितवनबाट भएको छ। असोज महिनामा चितवनमा कुल ११ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो। सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

 घरजग्गामा कर्जा प्रवाह वृद्धि : राष्ट्र बैंक

यता नेपाल राष्ट्र बैंकले भने घरजग्गामा कर्जा प्रवाह वृद्धिदरमा रहेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २० अर्ब ६० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा कर्जा वितरण बढाउदा समग्र व्यक्तिगत आवास कर्जा प्रवाह बढेको बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार