काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ८ अर्बको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सस्तो ब्याजरदका कारण माग भन्दा बढी आवेदन परेका छन् ।
कार्यालयका अनुसर १९ दिनको लागि ८ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी चैत २६ गते परिपक्व हुनेछ । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिलको अधिकतम २.९९९५ र न्यूनतम २.६३३९ ब्याजदर तोकिएको छ । औषत ब्याजदर भने २.९६०३ मा बोलकबोल गरिएको हो ।
पछिल्लो समय ऋण विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता देखिएको छ । बैंकहरुमा तरलता रहे सँगै ट्रेजरी बिलमा मागभन्दा धेरै आवेदन परेका हुन् । बैंकहरुले ३ गुणसम्म आवेदन दिएको कार्यालयले जनाएको छ । बैंकहरुमा तरलता थुप्रिए सँगै ट्रेजरी बिलको ब्याजदर समेत घटेको छ ।
यसअघि पुस १४ गते २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १२ अर्ब ९६ करोड ७५ लाख बराबरको बोल परेको थियो । जसको औषत छुटदर २.९६ प्रतिशत रहेको थियो । ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल खरिदका लागि २५ अर्ब ८८ करोड ५० लाख बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.८० प्रतिशत कायम भयो ।
त्यस्तै १८२ दिनको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि १६ अर्ब ५ करोड बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.८१ प्रतिशत रहेको थियो । साथै ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल खरिदका लागि १९ अर्ब बराबरको बोल परेको थियो । जसको औसत छुटदर २.९४ प्रतिशत कायम रहेको थियो । ट्रेजरी बिलको छुटदर ३ प्रतिशत भन्दा पनि तल रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।