सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु हुँदै

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज (शुक्रबार) ब्रेकथ्रु हुने भएको छ। सुरुङको ब्रेकथ्रु प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले ब्रेकथ्रुका लागि सबै आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

सुरुङमार्गको हाल भौतिक प्रगति ४० प्रतिशत तथा वित्तीय प्रगति ३९.९ प्रतिशत पुगेको छ। हाल टनेलको ढलान तथा लाइटिङको काम तीव्र गतिमा भइरहेको छ। अधिकारीका अनुसार, हालसम्म १ किलोमिटर १२६ मिटरको मुख्य टनेल खन्ने कार्य सम्पन्न भइसकेको छ भने टनेलको दुबैतर्फको संरचना जोड्ने कार्य यही शुक्रबार सम्पन्न हुनेछ।

सुरुङमार्गको मुख्य टनेल १ किलोमिटर ५३० मिटर रहेको छ। निर्माणको सम्झौता सन् २०२२ मा भएको हो र सन् २०२७ मार्चसम्म पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यदि हालकै गतिमा काम भएमा एक वर्षभित्र सुरुङमार्ग सञ्चालनमा आउने र सवारीसाधन चल्न सक्ने अधिकारीको दाबी छ।

सुरुङमार्ग १.१२६ किलोमिटर लम्बाइको हुनेछ, जसले विशेषगरी चिडियाखोलादेखि दोभानसम्मको जोखिमपूर्ण यात्रा सहज बनाउनेछ। दोभानदेखि चिडियाखोलासम्मको ४ किलोमिटर सडक बारैकाल खस्ने पहिरोका कारण जोखिम भएकाले सुरुङमार्ग निर्माण सुरु गरिएको हो ।

सुरुङमार्गको संरचनागत विकास अन्तर्गत भेन्टिलेसन, लाइट जडान, नाली निर्माण, र अन्तिम लाइनिङको कार्य क्रमशः सम्पन्न हुँदै जानेछ। त्यहाँ दुईवटा बिल्डिङ, कन्ट्रोल सिस्टम, साउथ र नर्थ पोर्टल, तथा आकस्मिक सेवाका लागि दुईवटा हेलिप्याड समेत रहनेछन्।

सुरुङमार्ग निर्माणका लागि २०७७ साल मंसिर १ गते मन्त्रिपरिषद्को बैठकबाट बजेट स्वीकृति प्राप्त भएको थियो। २०७८ साल जेठ ९ गते ग्लोबल टेन्डर आह्वान गरिएपछि चिनियाँ कम्पनी सीएससीईसीले निर्माणको जिम्मा लिएको थियो। परियोजनाको कुल बजेट ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ, जसमध्ये हालसम्म २ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको छ।

पश्चिम नेपालमा निर्माण भइरहेको एकमात्र सुरुङमार्ग भएकाले स्थानीय बासिन्दाहरू यसबाट उत्साहित छन्। विशेष गरी लुम्बिनी तथा गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। मृत्युमार्गका रूपमा चिनिएको सिद्धबाबा सडकखण्ड सुरुङमार्ग निर्माणपछि सुरक्षित बन्ने आशा गरिएको छ।

सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार, सुरुङमार्ग एसियन हाइवे स्ट्यान्डर्ड अनुरूप निर्माण भइरहेको छ। सुरुङमार्ग सञ्चालन भएपछि गाडीले ६० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न पाउनेछन्। निर्माण सम्पन्न भइसकेपछि ५ वर्षसम्म यसको सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी ठेकेदार कम्पनीमै रहने छ।

सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुने अधिकारीले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार