कर्जाको माग घटेसँगै बैंकहरुमा थुप्रियो लगानी योग्य पुँजी

काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायामान बनाउने बताए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा मागमा वृद्धि नभए सँगै बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सरकार र निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन नसक्दा बैंक तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य रकम परिचालन हुन नसकेको हो ।

बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा निक्षेप अनुपात कायम गर्न पाउँछन् तर गत बिहीबारसम्म बैंकको औसत कर्जा निक्षेप अनुपात  सिडी रेसियो ७९.०२ रहेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रकम पुगेको छ । जसमा वाणिज्य बैंकको ५७ खर्ब ५१ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्त कम्पनीमा ७ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंकिङ प्रणालीमा निक्षेप संकलन बढ्दै जाँदा कर्जा प्रवाह भने हुन सकेको छैन । अर्थतन्त्र चलायमान हुन नसक्नु, विप्रेषण आप्रवाह बढ्नु, सरकारी खर्च समेत बढ्न नसक्दा कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरु बताउछन् । मौद्रिक नीतिमार्फत् सरकारले वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋणको व्यवस्था गर्न, कृषि उपजको धितोमा सहज रूपमा कर्जा प्रवाह गर्न, युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याउन राष्ट्र बैंकले सहजीकरण गर्ने बताएको थियो तर त्यसलाई कार्यान्वयन भने गर्न नसक्दा कर्जा प्रवाह हुन सकेको छैन । निजी क्षेत्र, निर्माण व्यवसाय, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने नीति मौद्रिक नीतिको भए पनि कार्यान्वयन निराशाजनक रहेको छ ।

हाल बैंक तथा वित्तीय संस्थासँग कर्जा प्रवाहको लागि योग्य रकम ५२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरुसँग ४६ खर्ब १३ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्त कम्पनीहरु सँग ६ खर्ब रुपैयाँ रहेको छ । बैकिङ प्रणालीमा अधिक तरलता (ऋण दिन मिल्ने रकम) का कारण राष्ट्र बैंकले बजारबाट पैसा उठाउदै आएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । ब्याजदर घट्दा पनि बैंकहरुले कर्जा प्रवाह गर्न नसक्नुमा चालु पूँजीकर्जा सम्वन्धी व्यवस्था कारक रहेको निजी क्षेत्रका अधिकारीहरु बताउछन् । चालु पूँजी कर्जा व्यवस्थाले कर्जा लिनको लागि कारोबार पनि बढेको हुनपर्ने बताए सँगै उद्योगी तथा व्यवसायीहरु समस्यमा परेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार