काठमाडौं । कर्जा लगानी गर्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको विविध शीर्षकमा दायित्व भने निरन्तर बढी रहेको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय भने महँगो दरमा लिएको निक्षेप संकलनले दायित्व वृद्धि गरेको हो ।
हाल बैंकहरुको सीडी रेसियो ७९.०२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत सम्म कायम गर्न सक्ने व्यवस्था गरेको छ । जसअनुरुप नेपाल राष्ट्र बैंक सँग करिब पौने ७ खर्ब लगानी गर्न योग्य रकम थुप्रिएको छ । जसले बैंकको खर्चलाई मात्र निरन्तरता दिएको छ ।
त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आफना सेवाग्राहीलाई विभिन्न सुविधा दिए बापत् लिन शुल्कमा समेत कमी गर्दै आएको छ, जसले गर्दा संस्थाहरुको आम्दानी घट्दै गएको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५ अर्ब २२ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याज खर्च १ खर्ब ६३ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकले ब्याज खर्च १ खर्ब १२ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९ अर्ब ४१ करोडले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको ब्याज खर्च १ अर्ब ४१ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकले ब्याज खर्चवापत् १२ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ अर्ब २७ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले १८ अर्ब ७ लाख रुपैयाँ खर्च गरेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुले ब्याज खर्चवापत् ३ अर्ब ४० करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनाा ५४ करोड ३० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले ३ अर्ब ९५ करोड रुपैयाँ ब्याज खर्च गरेका थिए । अर्कोतर्फ विभिन्न बचत तथा निक्षेप रकम बैंक तथा वित्तीय संस्थाले ब्याज सेवा प्रदान गर्छ भने त्यसलाई परिवर्तन हुने ब्याजदरले प्रभावित बनाएको हुन्छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप, बचत, मुद्दती र साधारण खाता आदिमा ब्याज खर्च व्यहोर्दै आएको पाउछौं ।बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने सकारात्मक नहुदाँ संस्थाहरु थप समस्या परेको बैंकरहरु बताउँछन् । अहिलको परिस्थिति भनेको आम्दानीको लागि लगानी बढाउन नसकेको अवस्था रहेको उनीहरुको भनाई छ ।