काठमाडौं । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ ।
राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक गतिविधि २०८०८१ को वार्षिक अध्ययन प्रतिवदेनमा उक्त कुरा बताएको हो । राष्ट्र बैंक्का अनुसार २०८१ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.३५ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २४.१२ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.५३ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा कृषि कर्जाको हिस्सा १०.९७ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा २३.१६ प्रतिशत र सेवा क्षेत्रमाप्रवाहित कर्जाको हिस्सा ६५.८७ प्रतिशत रहेको थियो । कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८७.१० प्रतिशत रहेको छ भने अन्य जिल्लाको १२.९० प्रतिशत रहेको छ ।
जिल्लागत कर्जा प्रवाहको आधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४३.९३ प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम क्रमशः ०.४४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंक्का अनुसार निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७७ अर्ब पुगेको छ । सर्वसाधारणमा खर्च गर्ने प्रवृतिमा कमी आएको, रेमिट्यान्स आप्रवाह बढेको तथा वित्तीय सेवाको पहुँचमा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ ।
कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७६.७३ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २३.२७ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.२२ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.३१ प्रतिशत योगदान रहेको राष्ट्र बैंकले जनाएको छ ।