काठमाडौं । बजार, घरजग्गा, उत्पादनमुलक क्षेत्र लगायतका क्षेत्रहरु चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाहदरमा वृद्धि गरेको छ । व्यापारिक क्षेत्र, आयात व्यापार, घरजग्गा क्षेत्रमा कर्जा माग न्यून भए सँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले पछिल्लो समयमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह ३४.९८ प्रतिशतले वृद्धि गरेका छन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुससम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जास्वरुप १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको सोहि अवधिको तुलनामा ३४.९८ प्रतिशत अर्थात् २९ अर्ब ४८ करोडले शेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा वाप्त ८४ अर्ब २९ करोड रुपैयाँ वितरण गरेका थिए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको शेयर किन्ने प्रयोजनका लागि शेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो । मार्जिन प्रकृतिका शेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको वृद्धिदर रहेको छ । चालु आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकले ९१ अर्ब ५४ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २५ अर्ब ६८ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ६५ अर्ब ८६ करोड रुपैयाँ शेयर धितो प्रवाह गरेको थियो ।
औद्योगिक क्षेत्र, घरजग्गा लगायतका क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो कर्जा प्रवाह बढाएको बैंकरहरु बताउछन् । कर्जा प्रवाह गर्नु वाध्यात्मक अवस्था भएको कारण शेयर धितो कर्जा प्रवाह बढेको उनीहरु बताउछन् । हाल बैंक तथा वित्तीय संस्थासँग निक्षेप संकलन ६७ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह रकम ५४ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको पुससम्म विकास बैंकले १८ अर्ब १८ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ अर्ब ४१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पुससम्म विकास बैंकले १४ अर्ब ७७ करोड रुपैयाँ शेयर कितो कर्जा प्रवाह गरेको थियो ।
चालु आर्थिक वर्षको पुससम्म वित्त कम्पनीले ४ अर्ब ५० करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीले ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।
मौद्रिक नीतिले शेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको सीमा खारेज गरी व्यक्तिगततर्फको सीमालाई निरन्तरता दिएको थियो जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जामा वृद्धिदर भएको बैंकरहरु बताउछन् । शेयर धितो राखेर दिने कर्जामा संस्थागतर्फ २० करोड रुपैयाँको सीमालाई मौद्रिक नीतिले खारेज गरेको थियो । व्यक्तिगततर्फ शेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ रहेको छ जुन यथावत रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षाको क्रममा शेयर धितो कर्जा सम्वन्धी व्यवस्थामा कुनै परिवर्तन नगरे सँगै यसअघिको प्रक्रिया अनुरुप उक्त कर्जा वितरण तथा सञ्चालन भएको छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ ।