तानसेन । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपर्थ्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमानको भर नपरी सुखै थिएन ।
चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुना–टपरी बनाउन व्यस्त हुन्छिन् । अहिले उनलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । ‘पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपर्थ्यो,’ उनले भनिन्, ‘आजभोलि आफैँसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुना–टपरी बनाउन थालेँ । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।’
सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । उनी घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् । हिजोआज उनको दैनिकी पनि फेरिएको छ । उनी अहिले हरेक दिन काजीपौवामा रहेको दुना–टपरी उद्योगमा बिताउँछिन् ।
यहाँका अधिकांश महिलाले दुना–टपरी उद्योगमा रोजगारी पाएका छन् । उद्योगमा काम गरेबापत उनीहरूले मासिक पाँच हजारदेखि १० हजारसम्म कमाउँछन् । पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुना–टपरी उद्योगमा महिला मात्र भेटिन्छन् । उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुना–टपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ ।
महिलालाई आयआर्जनसँग जोड्न र दुना–टपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताइन् । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) र युएनडीपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताइन् ।
यहाँ तयार गरिएका दुना–टपरी पाल्पासहित देशका ठूला शहर बुटवल, भैरहवा, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ । दुना–टपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन् । साइजअनुसार दुईदेखि १० सम्म दुना–टपरी बिक्री हुँदै आएको छ । रासस