पशुपति क्षेत्र विकास कोषको ४ रोपनी भन्दा बढी जग्गा स्थानीयको कब्जामा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको ४ रोपनी भन्दा बढी जग्गा स्थानीयतले कब्जा गरेका छन् ।कोषको गोठाटरस्थित जग्गामा स्थानीयले कब्जामा लिई घर, विद्यालय भवन र टहरा निर्माण गरेका छन् । कोषको उक्त जग्गामा ११ पक्की घर र ४० टहरा र तेजविनायक माध्यमिक विद्यालयको भवन बनेको छ । साबिकको भन्दा घटी जग्गा देखिएका कारण उक्त जग्गाको हाल–साबिकसमेत हुन सकेको छैन । जग्गाको उचित संरक्षण एवं उपयोग गर्नुपर्नेछ ।

त्यस्तै, कोषले जग्गा संरक्षणमा कुनै चासो नदेखाउँदा अतिक्रमण हुनपुगेको स्थानीयहरु नै बताउछन् । २०७४ वैशाख ५ गते मन्त्रिपरिषद्ले गोठाटारस्थित सात हजार वर्गमिटरभन्दा बढी जग्गा कोषको भएको निर्णय गरेको थियो । महालेखाले आफ्नो ६१औँ प्रतिवेदनमा गोठाटार ३ (क) कित्ता नम्बर ५९ को १९ रोपनी चार आना क्षेत्रफलको टायल चेकबाट क्षेत्रफल १५ रोपनी (७६२९.६) वर्गमिटर कायम भई हाल नापीमा वडा नं ३ सिट नम्बर १०६९–१५ कित्ता नम्बर १ र २ को कमशः क्षेत्रफल दुई हजार एक सय ७१ दशमलव शून्य पाँच र पाँँच हजार ९० दशमलव ६६ वर्गमिटरसमेत जम्मा क्षेत्रफल सात हजार दुई सय ६१ दशमलव ७१ वर्गमिटर जग्गा कोषको भएको बताएको छ । डिजिटल प्रविधिबाट नापी हुँदा गोठाटारमा रहेको जग्गा तीन सय ६७ दशमलव ८९ वर्गमिटर घटी हुन गएको देखिन्छ ।

कोषले आफ्नो जग्गासँगै मन्दिरमा भेटी चढाइएको सुनचाँदी समेत संरक्षण गर्न नसकेको बताइएको छ । कोषसँग कति जग्गा छ, कहाँ–कहाँ छ भनी जग्गाको लागत तयार गरी संरक्षण गर्नुपर्ने बताइए पनि त्यसो गरिएको छैन । पशुपतिको सम्पत्ति तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिको प्रतिवेदन– २०७५ अनुसार श्री पशुपतिनाथ गुठीतर्फ अमालकोट, पशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको लगतअनुसार कुल पाँच हजार ६० रोपनी गुठी जग्गा रहेकोमा दुई सय ३१ रोपनी १० आना एक पैसा जग्गा दर्ता बाँकी रहेको छ । साथै एक हजार एक सय ६१ रोपनी १४ आना तीन पैसा जग्गा सम्झौताबमोजिम त्रिभुवन विमानस्थलले प्रयोग गरिरहेको छ ।

पशुपति क्षेत्रभित्रका मन्दिर, देवालय, शिवालय तथा विभिन्न गुठीको १० हजार १९ रोपनी १५ आना एक पैसा र श्रीपशुपतिनाथको महास्नान पोता गुठीको एक हजार दुई ४१ रोपनी एक आना दुई पैसा गरी गुठी संस्थान मातहत कुल ११ हजार दुई सय ६१ रोपनी तीन पैसा जग्गा रहेको छ । पशुपति क्षेत्रभित्र गुठी संस्थानअन्तर्गत सञ्चालन र व्यवस्थापन हुँदै आएका राजगुठीहरूको संख्या लगभग एक सय ९५ रहेको भए पनि श्री पशुपतिनाथ र यस क्षेत्रका मठमन्दिर, पूजाआजा, पर्व एवं जात्रा आदिसँग सम्बन्धित राजगुठी, छुट गुठी र निजी गुठीसमेतका सम्पूर्ण गुठी जग्गाको यथार्थ र अद्यावधिक लगत अभिलेख कोषले तयार गरेको पाइएन । पशुपतिनाथ र यस क्षेत्रका गुठी तथा जग्गाको अद्यावधिक लगत तयार गर्नको लागि सरकारले निर्देशन दिए पनि कोषले त्यसलाई पूर्ण बेवास्ता गर्दै आएको छ ।

कोषले गौशाला धर्मशालाको समेत संरक्षण गर्न सकेको छैन । कोषले १९९० सालको भूकम्पपीडितहरूलाई राहतस्वरूप खाना खुवाउन र त्यसपछि दुध कटुवा साँढेहरूलाई जुनेलो घाँस रोप्न उपलब्ध गराएको नौ रोपनी १४ आना जग्गा हाल एक समितिले उपयोग गरिरहेको छ । २०६० जेठ १२ गते कोषसँग सम्झौता गरी वार्षिक ५१ हजार दिने उल्लेख भए पनि कार्यान्वयन भए÷नभएको सार्वजनिक गरिएको छैन । दुवै पक्षको सहमतिमा संशोधन आवश्यक रहेको बताइएको छ ।

धर्मशाला परिसरमा गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन गर्नुपर्नेमा सम्झौताविपरीत १९ सटरहरूमा पसल, धर्मशालाभित्र चमेना गृह, अस्पताल, दूध तथा दुग्ध पदार्थहरू बिक्री वितरणलगायतका कामहरू गरिएको महालेखाले उल्लेख गरेको छ । प्रचलित बजार दरको आधारमा न्यूनतम भाडादर कायम गरी अद्यावधिक गर्नुपर्नेमा सरकारी दररेटभन्दा पनि न्यून दरमा भाडामा दिइएकोमा संरचना निर्माण गरी उक्त समितिले व्यावसायिक प्रयोजनमा प्रयोग गरेको अवस्था छ ।

२०६३ मंसिर ६ गते सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको निर्णयमा छ महिनाभित्र उक्त धर्मशाला कोषले जिम्मा लिई सम्झौता रद्द गर्ने उल्लेख छ । उक्त समितिले प्रयोग गर्दै आइरहेको गौशाला धर्मशालाको जग्गाको सम्झौता पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्कोे बैठकले खारेज गर्दै भाडा पुनरावलोकन गरी पुनः सम्झौताका लागि १५ दिनको म्याद दिइएको भए पनि हालसम्म कार्यान्वयन भएको छैन । २०८० साउन १६ गते उक्त सम्झौता भएको थियो । कोषको सम्पत्ति पशुपति क्षेत्र विकास कोषको उद्देश्यअनुसार उपयोग एवं संरक्षण गर्नुपर्ने माग उठाए पनि कोषका पदाधिकारीले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार