CLI
Global College

प्रक्रिया पुगेका हाइड्रोलाई आईपीओ अनुमति दिने योजनामा सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) हाइड्रोपावर कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० प्रक्रियालाई अघि बढाउने तयारीमा रहेको छ । सेबोनका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार आवश्यक कागजात पूरा गरेका कम्पनीहरूको आईपीओ अनुमति रोकिएको छैन । तर, केही कम्पनीहरूले आवश्यक कागजात नपुगेका कारण आईपीओ अनुमति नपाएको हुनसक्ने उनले स्पष्ट पारे ।

हाल सेबोनमा ४२ हाइड्रोपावर कम्पनीहरू आईपीओको स्वीकृतिको प्रतीक्षामा छन्, भने १० हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयरको अनुमति माग्दै निवेदन दिएका छन् । सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते सेबोनलाई प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा माथि भएका कम्पनीहरूलाई मात्र आईपीओ जारी गर्न निर्देशन दिएको थियो । यस निर्देशनपछि सेबोनले कुनै पनि हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष उत्तम भ्लोन लामाका अनुसार, लेखा समितिको निर्देशन ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूका लागि भए पनि, ९० रुपैयाँभन्दा माथि नेटवर्थ भएका कम्पनीहरूको पनि आईपीओ रोकिएको विषय आफूले नबुझेको बताए । उनका अनुसार करिब दुई वर्षदेखि आवेदन दिएका हाइड्रोपावर कम्पनीहरू आर्थिक वर्ष सकिएको आठ महिना बितिसक्दा पनि अनुमति नपाउँदा निराशा छाएको छ ।

‘आईपीओ जारी गर्न हाइड्रोपावर कम्पनीले करिब दुई वर्ष अघिदेखि आवेदन दिएका हुन् । आर्थिक वर्ष सकिएको ८ महिना हुन लागिसकेको छ,’ घिमिरेले भने, ‘पछिल्लो वित्तीय विवरण अपडेट नगरेकाले केही कम्पनीहरूको आईपीओ प्रक्रिया रोकिएको हो। आवश्यक विवरण अपडेट गरी प्रस्तुत गर्ने र सम्पूर्ण प्रक्रिया पूरा गर्ने कम्पनीहरूले भने निष्कासन अनुमति प्राप्त गरिरहेका छन् ।’

सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नियुक्त भएदेखि चार कम्पनीलाई आईपीओ अनुमति दिइएको छ । तर तिनमा कुनै पनि हाइड्रोपावर कम्पनी समावेश छैन । हालसम्म ३० देखि ३५ हाइड्रोपावर कम्पनीहरूले आफ्नो वित्तीय विवरण अपडेट गरी सेबोनमा पेश गरेको लामा बताउँछन् । यसका बावजुत पनि आईपीओ अनुमति नपाउँदा हाइड्रो लगानीकर्ता विस्थापित हुने त्रास पैदा भएको छ ।

आईपीओ अनुमति रोकिएपछि इप्पानले यस विषयलाई लिएर विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट र दौडधुप तीव्र पारेको छ । इप्पानका अनुसार अनुमति माग गर्ने ४२ कम्पनीमध्ये केवल चारको मात्र नेटवर्थ ९० रुपैयाँभन्दा कम छ । ती कम्पनीहरू धर्मखोला हाइड्रो इनर्जी लिमिटेड, रिचेत जलविद्युत कम्पनी लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट, र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड हुन् ।

त्यस्तै, ९ वटा हाइड्रोपावर कम्पनीहरूको नेटवर्थ खुल्न बाँकी छ। ती कम्पनीहरूमा लाफिङ बुद्ध पावर नेपाल लिमिटेड, हिम रिभर पावर लिमिटेड, लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड, एपेक्स मकालु हाइड्रोपावर लिमिटेड, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, आशुतोष इनर्जी लिमिटेड, पुवा खोला–वान हाइड्रोपावर लिमिटेड, र हिम पर्वत हाइड्रोपावर लिमिटेड रहेका छन् ।

Leave Your Comment

Related News