मुलुकभर १७ हजार किलोमिटर कालोपत्रे सडक विस्तार

काठमाडौं । मुलुकको विकासको पहिलो पूर्वाधार मानिने सडकको विकासमा नेपाल निक्कै पछाडि परेको छ । राजनीतिक अस्थिरता , ढिलासुस्ती कर्मचारीतन्त्र, नागरिकको चेतनास्तर र मुआब्जा विवाद लगायतका कारण सडक विस्तार हुन सकेको छैन । यसैबीच हालसम्म मुलुकभरमा कुल १७ हजार किलोमिटर भन्दा बढी सडक मात्र कालोपत्रे गरिएको छ । मुलुकको सम्पूर्ण सडकहरु कालोपत्रे छैन जसको राम्रो उदाहरण भनेको राजधानीलाई हेर्न सक्छौं । राजधानी काठमाडौंको सम्पूर्ण क्षेत्रमा समेत सडक कालोपत्रे हुन सकेको छैन भने राजधानीका सडकमा खाल्डाखुल्डी समेत रहेको पाइन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १०० किलोमिटर पुगेको छ । कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा ७ हजार ९५६ किलोमिटर ग्रावेल सडक र ८ हजार ६६४ कच्ची सडक विस्तार गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ३३ हजार ९९६ किलोमिटर, आर्थिक वर्ष २०७७÷७८ मा ३३ हजार ७१६ किलोमिटर र आर्थिक वर्ष २०७६÷७७ मा ३३ हजार २४४ किलोमिटर सडक विस्तार गरिएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा भने कालोपत्रे सडक १७ हजार २३२ किलोमिटर, ग्रावेल ७ हजार ८८८ किलोमिटर र कच्ची ८ हजार ८७६ किलोमिटर विस्तार गरिएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा कालोपत्रे सडक १६ हजार ६१४ किलोमिटर, ग्रावेल ८ हजार १७१ किलोमिटर र कच्ची ८ हजार ९३१ किलोमिटर सडक विस्तार गरिएको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा कालोपत्रे सडक १५ हजार ४२४ किलोमिटर, ग्रावेल ८ हजार ६२२ किलोमिटर र कच्ची ९ हजार १९८ किलोमिटर सडक विस्तार गरिएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा नयाँ सडक निर्माण, खण्डस्मित स्तरमा स्तरोन्नति, कालोपत्रे स्तरमा स्तरोन्नति, सडक मर्मत (नियमित र पटके) , आवद्यिक मर्मत र पुल निर्माणको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा नयाँ सडक निर्माण १०४ किलोमिटर, खण्डस्मित स्तरमा स्तरोन्नति ३१६ किलोमिटर, कालोपत्रे स्तरमा स्तरोन्नति २४८ किलोमिटर, सडक मर्मत (नियमित र पटके) ८ हजार २५४ किलोमिटर , आवद्यिक मर्मत २७८ किलोमिटर र ७५ वटा पुल निर्माण गरिएको छ ।
उक्त सडकहरु निर्माण तथा मर्मत अन्तर्गत भने स्थानिय तहमा रहेका स–साना सडक देखि लिएर राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएका सडकहरु समेत समावेश गरिएको मन्त्रालयका प्रवक्ता सुशील बाबु ढकालले जानकारी दिए । मध्यपहाडी राजमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटर रहेकोमा हालसम्म १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै हुलाकी राजमार्गको कुल लम्बाई १ हजार ८५७ किलोमिटर रहेकोमा हालसम्म ९२१ किलोमिटर सडक कालोपत्र भएको छ भने उत्तर दक्षिण राजमार्ग कोरिडोर कुल लम्बाई ४४७ किलोमिटर मध्ये हालसम्म १२० किलोमिटर (गैडाकोट देखि राम्दीको मात्र) सडक कालोपत्रे र २७ वटा पुलको निर्माण भएको छ । हाल नेपालमा १५ राजमार्ग र ५१ वटा साना तथा मझौला पक्की सडक सञ्चालित हुदाँ पनि ३४ भन्दा बढी जिल्लाका करिब ४० वटा स्थानीय तहलाई सडक सञ्जालले छोएको छैन । विशेष गरी हिमाल र पहाडमा सडक विस्तार गर्न कठिनाई हुने गरेको भए पनि तराईका स्थानीय तहमा समेत सडक सञ्जाल पुगेको छैन ।

त्यस्तै, गुणस्तरीय भौतिक पूर्वाधारले मुलुकको समृद्धि र सार्वजनिक सेवाको गुणत्मक विकासमा सकारात्मक टेवा दिने भए पनि त्यसलाई वर्तमान सरकारले कार्यान्वयन गर्न नसक्दा मुलुकको विकास पूर्वाधारमा फड्को मार्न सकिएको छैन । आर्थिक विकासको पूर्वाधारको रुपमा रहेको सडक सञ्जाललाई विस्तार गरी सहज आवागमन, आन्तरिक आर्थिक गतिविधि विस्तार र क्षेत्रीय तथा अन्तराष्ट्रिय व्यापार सहजीकरण गर्न सुरक्षित सडक पूर्वाधारमा विभिन्न कार्यक्रम कार्यान्वयन हुँदै आए पनि त्यसले गति लिन नसक्दा समग्र क्षेत्र समेत प्रभावित बन्न पुगेको विज्ञ तथा सरोकारावालाहरु बताउछन् । जस्तो हाम्रो आयात तथा निर्यात व्यापार समेत महँगो हुनुमा असहज सडक व्यवस्था पनि कारक भएको उनीहरुको भनाई छ । देशभर सडक सञ्जालको विस्तार हुँदै गएको छ । सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवाको सुनिश्चित गरी आमनागरिकको जनजीवनामा सहजता ल्याउनुपर्ने प्राथमिकतालाई मनन गर्दै सरकार अघि बढेको दाबी भने मन्त्रालयका अधिकारीहरु गर्दै आएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार