काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति ९० प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति ३५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । जुन गत अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८९.९९ प्रतिशत अर्थात् १६ अर्ब ८२ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९८० मा बैंक तथा वित्तीय संस्थाको गैरबैकिङ सम्पत्ति १८ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको गैर बैकिङ सम्पत्तिमा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन गैरबैकिङ सम्पत्तिको प्रयोग गर्दछन् । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैले सकार गर्नुपर्ने हुन्छ जसले गर्दा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा समस्यामा रहेका छन् । विशेष गरी गैरबैकिङ सम्पत्तिमा हाम्रो समाजमा सबैभन्दा बढी घरजग्गा हुने गरेको छ तर पछिल्लो समय घरजग्गाको कारोबार हुननसक्दा बैंक तथा वित्तीय संस्थामा समेत जोखिमभार बढेको हो ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकको ३० अर्ब १७ करोड रुपैयाँ गैरबैकिङ सम्पत्ति रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १४ अर्ब ८७ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकको गैरबैकिङ सम्पत्ति १५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकको ३ अर्ब ३६ करोड रुपैयाँ गैरबैकिङ सम्पत्ति रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब १० करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकको गैरबैकिङ सम्पत्ति २ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा वित्त कम्पनीको १ अर्ब ९६ करोड रुपैयाँ गैरबैकिङ सम्पत्ति रहेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८५ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा वित्त कम्पनीको गैरबैकिङ सम्पत्ति १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
बजार चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा गैरबैकिङ सम्पत्ति थुप्रिन पुगेको हो । यसरी बैंक वित्तीय संस्थाले सकारेको सम्पत्तिको रुपमा रहेन गैर बैंकिङ सम्पत्ति बैंकहरुले सकार गरेको गैर बैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ । गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा मात्र त्यस्तो सम्पत्तिका लागि सिर्जना गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसावमिलान हुन्छ । गैर बैंकिङ सम्पत्तिको बिक्री पछि पुर्ण रुपमा कर्जा व्यवस्थापन भएपछि मात्रै नोक्सानी व्यवस्थालाई आम्दानीमा देखाउन सक्छन् ।