कर्जा र खराब कर्जा प्रवाह दुवै बढ्यो

काठमाडौं । अर्थतन्त्र लयमा हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह समेत सुरक्षित हुन सकेको छैन । सरकारले आर्थिक विकासको पाटोलाई ध्यान नदिदाँँ अर्थतन्त्र चलायामान हुन सकेको छैन जसको मार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थाले भोग्नु परेको छ । सरकारले लगानीको क्षेत्रलाई प्राथमिकतामा राख्न नसक्दा लगानी हुन नसकेको र भएको लगानी समेत सुरक्षित नरहेको वर्तमान अवस्था बैंकरहरु बताउछन् । अनुत्पादक क्षेत्र मानिएको घरजग्गा क्षेत्रका लगानीमा कमी आए सँगै पछिल्लो समय अर्थतन्त्र चलायमान हुन सकेको छैन भने बैंक तथा वित्तीय संस्थाले घरजग्गा लगायतका विभिन्न क्षेत्रमा गरेको कर्जा प्रवाह समेत उठ्न नसकेको अवस्था रहेको छ , जसले गर्दा बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको समस्या हाल पनि रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.८६ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४८ खर्ब ७९ अर्ब ८५ करोड रुपैयाँ कर्जा रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले व्यक्तिगत आवास कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले ४५ खर्ब ७२ अर्ब ९४ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ८ खर्ब ६९ अर्ब ३६ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले ४२ खर्ब ९९ अर्ब ९३ करोड रुपैयाँ कर्जा वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले ४ खर्ब ९६ अर्ब २२ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २७ अर्ब २४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले ४ खर्ब ६८ अर्ब ९८ करोड रुपैयाँ कर्जा वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले १ खर्ब १३ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ७ अर्ब ६५ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले ९२ अर्ब ४७ करोड २० लाख रुपैयाँ कर्जा वितरण गरेको थियो । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा, घरजग्गा कर्जा र सुनचाँदी धितो कर्जा लगायतका कर्जा प्रवाह बढ्दा समग्र कर्जामा वृद्धि देखिएको हो । समीक्षा अवधिमा घरजग्गा कर्जा २० अर्ब ६० करोड रुपैयाँ, व्यक्तिगत आवास ३५ अर्ब ८७ करोड रुपैयाँ र सुनचाँदी धितो कर्जा ६ अर्ब ८९ करोड रुपैयाँले बढेको छ । साथै विपन्न वर्ग कर्जा र हायर पर्चेज कर्जा लगायतका कर्जाको माग भने घटेको छ । समीक्षा अवधिमा विपन्न वर्ग कर्जा ३ खर्ब ७ अर्ब रुपैयाँ र हायर पर्चेज कर्जा ८ अर्ब २९ करोड रुपैयाँले घटेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्र चलयमान हुन नसक्दा कर्जा माग र आपूर्ति न्यून रहेको पाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार