बैंकमा तरलता अत्याधिक बढ्दा सार्वजनिक ऋणपत्र र ट्रेजरी बिलमा उच्च आकर्षण

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) ले जारी गर्ने ट्रेजरी बिल र विकास ऋणपत्रमा आवेदनको दर तीव्र रूपमा बढेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक भएपछि ऋणपत्र र ट्रेजरी बिलमा माग उल्लेखनीय रूपमा वृद्धि भएको हो।

विकास ऋणपत्रमा तीन गुणा बढी आवेदन

चालु आर्थिक वर्ष २०८१/८२ मा पीडीएमओले ११ पटक विकास ऋणपत्र जारी गरेको छ। यो अवधिमा ९ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दा बैंक तथा वित्तीय संस्थाबाट दुई खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। पीडीएमओले जारी गरेका ऋणपत्रको औसत ब्याजदर ४.७१ प्रतिशत रहेको छ।

पीडीएमओका उपनिर्देशक प्रकाश पुडासैनीले पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएकाले ऋणपत्रमा तीन गुणा बढी आवेदन पर्न थालेको बताए।

पीडीएमओले हालसम्म निष्काशन गरेको विकास ऋणपत्रमा प्रतिस्पर्धी लागि तीन खर्ब १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । उनका अनुसार प्रतिस्पर्धी अन्र्तगत बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदरमा प्रतिस्पर्धा गर्छन् । त्यस्तै, अप्रतिस्पर्धीमा चार अर्ब ९१ करोड रुपैयाँको आवेदन परेको थियो । प्रतिस्पर्धीबाट बाँकी रहेको रकम र तोकिएको ब्याजदरमा अप्रतिस्पर्धीमा आवेदन दिने बैक तथा वित्तीय संस्थाले ऋणपत्र खरिद गर्नुपर्नेछ ।

ट्रेजरी बिलमा पाँच गुणा बढी आवेदन

ट्रेजरी बिलमा आवेदन दर झन् चुलिएको छ। साउन यता पीडीएमओले ६२ पटक ट्रेजरी बिल बिल निष्काशन गर्दा प्रत्येक पटक तोकिएको रकमभन्दा पाँच गुणा बढी आवेदन परेको छ। साउन १ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुँदा ५२ अर्ब ६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो।

साउन १ गते नै सात अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गरिएको थियो । जसमा ५३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । साउनमा तेस्रो पटक ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन भएको थियो । जसमा ९१ अर्ब ४० करोडको आवेदन परेको थियो ।

मंसिर १६ गते पाँच अर्बको ट्रेजरी विल निष्काशन गरेको थियो । जसमा २५ अर्ब ३४ करोड रुपैयाँको लागि आवेदन परेको थियो । एक वर्षको लागि निष्काशन गरिएको सो ट्रेजरी बिलमा १६ वटा बैक तथा वित्तीय संस्थाको २८ वटा आवेदन परेको थियो ।

ऋण संकलनका उपकरण

सरकारले आन्तरिक र बाह्य स्रोतबाट ऋण संकलन गर्न विभिन्न वित्तीय उपकरण प्रयोग गर्छ। आन्तरिक ऋण संकलनका लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, र वैदेशिक रोजगार बचतपत्र प्रमुख छन्। ट्रेजरी बिल छोटो अवधिका लागि हुन्छ भने विकास ऋणपत्र लामो अवधिका लागि प्रयोग गरिन्छ।

निष्काशन प्रक्रिया

पीडीएमओले निश्चित तालिकाअनुसार ऋणपत्र जारी गर्छ। बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट आवेदन दिन सक्छन्। एक दिनको अवधिमा ऋणपत्र जारी गरी भोलिपल्ट बिहान १० देखि २ बजेसम्ममा बाँडफाँड गरिन्छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार