यी हुन् सक्छन् दशैं बिदामा घुम्न उपयुक्त सात गन्तव्य

काठमाडौं । नेपालको ठूलो चाडको रुपमा दशैं रहेको छ । दशैं लगत्तै तिहार लगत्तै छठ । यी चाड मनाउन सरकारी कार्यालय, उद्योग कलकारखाना, प्राइभेट अफिसले कर्मचारीलाई छुट्टी दिइन्छन् ।

पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदैछ । घरमै सबैजना बसेर रमाइलो गर्ने त छँदैछ, सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।

विशेषगरी दशैंको आपास तिहार र छठ पर्ने भएकाले केही बिदा बढी मिलाएर घुमघामका लागि उपयुक्त समय हो । वर्षा सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि उपयुक्त हुन्छ दशैंको समय ।

बन्दीपुर

दशैं बिदामा गएर परिवार तथा साथीभाईसँग मज्जाले रमाउन सकिने अर्को ठाँउ हो बन्दीपुर । तनहुँको पुरानो बजार रहेको बन्दीपुरमा नेवार समुदायको बाहुल्यता रहेको छ । बन्दीपुरमा घुम्ने ठाउँ त्यति धेरै त छैनन् । तरपनि त्यहाँको आकर्षण भनेको प्राकृतिक दृश्यवलोकन नै हो ।

पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर शान्त भएकोले एकै ठाउँमा बसेर दृश्यवलोकन गर्दै दिन कटाउन सकिन्छ । बन्दीपुर मुग्लिनबाट पोखरा जाँदा पर्ने डुम्रे बजारबाट ८ किलोमिटरको दूरीमा छ । यहाँबाट गोरखाको पालुङटार, तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ ।

मार्दी हिमाल

कास्कीको मााछापुच्छ्रे गाउँपालिकामा मार्दी हिमाल छ । यसको बेसक्याम्प चार हजार पाँच सय मिटरको उचाईमा रहेको छ ।

व्यवस्थित ट्रेकिङ रुट भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ झुम्मिने गर्दछन् । विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प जाने बाटो। बेसक्याम्पबाट चाँदीझै टल्किेने हिउँको लेपनले मार्दी हिमाल निकै मनमोहक देखिन्छ ।

यहाँको यात्रा गर्दा अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायतका हिमालहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरुसमेत अवलोकन गर्न पाइन्छ । पाँच दिनको पैदल दूरीपछि मार्दीको बेसक्याम्पसम्म पुग्न सकिन्छ ।

कास्कीको काँडेबाट यसको पैदल यात्रा सुरु हुन्छ । काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ । त्यसपछि फरेष्ट क्याम्प र फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ पुगिन्छ । बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। हाइक्याम्पबाट मार्दी हिमालको बेसक्याम्प पुग्न सकिन्छ ।

मार्दीको अवलोकनपछि पैदल हिँडेर लो क्याम्प हुँदै सिदिङ आइपुगिन्छ। सिदिङबाट जीपमा पोखरा आउन सकिन्छ ।

यहाँ बास बस्ने होटल तथा लजहरु हाइक्याम्प पुगेपछि भेटिन्छन् ।

कालिञ्चोक

दोलखाको कालिञ्चोक भगवतीको मन्दिर पछिल्लो समय पर्यटनका लागि निकै प्रख्यात ठाउँ हो। हरेक हिउँदमा यहाँ हजारौंको संख्यामा पर्यटकहरु घुम्न पुग्छन् । दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोकस्थित कुरी पुग्न सकिन्छ ।

कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो चढ्नुपर्छ । ३ हजार ८ सय ४२ मिटर उचाईको कालिञ्चोक भगवतीको मन्दिर अवस्थित छ ।

प्राय: शुक्रबार र शनिबार बढी पर्यटक तथा दर्शनार्थीहरु यहाँ पुग्ने गर्दछन् । काठमाडौंबाट बोलेरो जीप रिजर्ब गर्नेदेखि मोटरसाइलक र निजी गाडी लिएर पनि यहाँ पुग्न सकिन्छ। काठमाडौंदेखि सबैभन्दा नजिकको प्रशिद्ध पर्यटकिय स्थलका रुपमा यसलाई लिने गरिएको छ ।

पहिलो दिन कुरी बजारमा पुगेर होटलमा रात बिताएर भोलिपल्ट कालिञ्चोक मन्दिरको दर्शन पनि गर्न सकिन्छ। पुगेकै दिनमा पनि मन्दिरको दर्शन गर्न सकिन्छ ।

कुरी बजारबाट कालिञ्चोक मन्दिरसम्म केबुलकारबाट जान मिल्छ। पैदल हिँडेर पनि जान सकिन्छ। यस क्षेत्रमा जाडो अत्याधिक हुन्छ। यसपाली दशैं अगाडि नै भएका कारण हिउँदको जस्तो जाडो भने यसपटक महशुस हुँदैन ।

कालिञ्चोक भगवती मन्दिरबाट गौरीशंकर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । टाकुराबाट चारैतिर देखिने हिमाल, डाँडाकाँडा, घनाजंगलले मोहित पार्छ। कुरीपूर्वका ठूल्ठूला घाँसे मैदान अवलोकन गर्न सकिन्छ ।

मुस्ताङ मुक्तिनाथ

प्राकृतिक सुन्दरता र शान्त वातावरण रहेको हिमालपारीको जिल्ला मुस्ताङको राजधानी हो जोमसोम । यहाँ जानका लागि सबैभन्दा आकर्षण गन्तव्य हो मुक्तिनाथ मन्दिर । यहाँ हरेक वर्ष लाखौं हिन्दु र बौद्धधर्मालम्बिहरु दर्शन गर्नका लागि आउने गर्दछ ।

निलो आकाश मुनिको सेतो हिमाललाई पृष्ठभुमिमा राखेर फेटो खिच्न, भिडीयो तथा टिकटक बनाउन अति नै राम्रो देखिन्छ ।

केही वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ पोखराबाट जोमसोम–मुक्तिनाथका लागि यातायात उपलब्ध हुन थालेपछि अहिले नेपालीहरुको रोजाइमा पनि पर्न थालेको छ ।

पछिल्लो समय मुक्तिनाथ मन्दिरमै सवारीसाधन पुग्छ । तर पनि यहाँ पैदल यात्रा गर्दा अझै रमाइलोसँग गन्तव्यमा पुग्न सकिन्छ । यहाँ एकल यात्राका लागि केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरुले दशैं बिदाको लागि जारी गरेको प्याकेज निकै सस्तो पर्दछ । मुक्तिनाथ पुगेपछि लोमान्थाङ पुग्नसके यात्राले अझै सार्थकता पाउँछ । मुक्तिनाथदेखि लोमान्थाङ जानलाई पैदल यात्रामा तीन दिनमा र जोमसोमदेखि जीपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ ।

खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीे हो । सुदूरपश्चिमकै भूस्वर्गको रुपमा रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा हो । वैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकेर आकर्षित बनाएका हुन्छ ।

खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । भने खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरुले थप आकर्षित बनाएको छ । धनगढीबाट ७.८ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रा शुरु हुन्छ । सिलगढीबाट यात्रा शुरु गरि २ दिनको यात्रा पछि खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

रारा ताल

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालकै ठूलो ताल हो । यो महेन्द्र तालका नामले पनि प्रसिद्ध छ ।

कर्णालीमा सडक सञ्जालको पहुँच पुगेसँगै यसको महत्त्व बढ्दै गएको छ। छायाँनाथ रारा नगरपालिकामा पर्ने यो ताल समुद्र सतहदेखि २९ सय ९० मिटर उचाईमा अवस्थित छ । यो तालको लम्बाई करिब पाँच किलोमिटर रहेको छ भने चौडाई करिब तीन किलोमिटर छ। यसको गहिराई १६७ मिटर छ ।

यसको वरिपरी रारा राष्ट्रिय निकुञ्ज छ। निकुञ्जमा कस्तुरी मृग, रतुवा, हिमाली कालो भालु, बँदेल, कालिज, डाँफे, च्याखुरा जस्ता पंक्षी पाइन्छन् ।

सूर्योदय र सूर्यास्तका बेला यस तालको दृश्य निकै मनमोहक देखिन्छ। यस्तै चंखेली र कान्जिरोवा हिमालको छाँया तालमा पर्दा त झनै रोमाञ्चक देखिन्छ । राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको पूरा दृश्य देख्न सकिन्छ । साथै मुर्माटपबाट सैपाल हिमालको समेत अवलोकन गर्न सकिन्छ ।

रारा जान जहाज र बस दुवैको प्रयोग गर्न सकिन्छ। काठमाडौंबाट बसमा ३२ घण्टामा जुम्लाको सदरमुकाम खलंगा पुगिन्छ । खलंगाबाट बस चढेर ऐतिहासिक उपत्यका सिञ्जा हुँदै मुगुको सदरमुकाम गमगडी पुग्न सकिन्छ। गमगडीबाट दुई घण्डाको पैदल यात्रापछि रारासम्म पुग्न सकिन्छ । यता जुम्लाबाट डाँफे लेक हुँदै पैदल जान पनि सकिन्छ । जसमा स्थानीय एक दिनमै पुग्छन् भने बाहिरबाट जाने पर्यटकले विस्तारै हिँड्दा करिब दुई दिन लगाउँछन् ।

काठमाडौंदेखि रारासम्म पुग्न र काठमाडौं फर्किन स्कार्पियोमार्फत् जाँदा भने करिब एक साताको समय लाग्छ ।

पून हिल

अन्नपूर्ण र धवलागिरी हिमाल हेर्न सबैभन्दा उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । यहाँ स्वदेशीभन्दा बिदेशी पर्यटकहरु बढी पुग्ने गर्दछन् । तर, पछिल्लो समय नेपाली युवाहरुको पनि चहलपहल बढिरहेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । यस पदयात्रामा खाने बस्ने राम्रो सुविधा छ । अत्यधिक मात्रामा पर्यटक जाने भएकाले होटलहरुमा अग्रिम बुकिङ्ग गर्नु पर्छ । पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार