काठमाडौं । लामो समयदेखि अर्थतन्त्र सुस्त हुँदा वाणिज्य बैंकहरुको कर्जा असुलीको समस्या बिक्राल बन्दै गएको छ । ऋण विस्तार सुस्त हुनुका साथै कर्जा असुलीमा समस्या देखिँदा खराब कर्जा बढ्दो क्रममा रहेको बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को लागि सार्वजनिक गरेको दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १९ वटाको खराब कर्जा बढेको तथ्यांकमा देखिन्छ । समीक्षा अवधिमा एभरेष्ट बैंकको मात्र खराब कर्जा घटेको देखिन्छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको पुस मसान्तसम्म बैंकहरुको खराब कर्जा ३२.०७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकहरुको औसत खराब कर्जा ३.३९७ प्रतिशत रहेको अहिले १.०८९ प्रतिशत विन्दुले बढेर ४.४८६५ प्रतिशत पुगेको छ ।
लगानीको क्षेत्र विस्तार नहुनु र अर्थतन्त्रमा देखिएको शिथिलताका कारण विस्तारित कर्जा समयमा नउठ्दा खराब कर्जा बढेको बैंकहरु बताउँछन् ।
यस अवधिमा चार वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको छ । कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमासमा कुमारी बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियो । कुमारी बैंकको खराब कर्जा १.९९ प्रतिशत विन्दुले बढेको छ ।
प्रभु बैंकको ५.०६ प्रतिशत, लक्ष्मी सनराइज बैंक ५.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत खराब कर्जा पुगेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा एनआईसी एशिया बैंकको बढेको छ । चालु आवको पुस मसान्तसम्म एनअआईसी एशिया बैंकको खराब कर्जा ४.६१ प्रतिशत पुगेको छ । गत आवमा बैंकको खराब कर्जा १.१९ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा २८७.३९ प्रतिशतले बढेको छ ।
बाँकी बैंकको खराब कर्जा बढ्दा एभरेष्ट बैंकले भने खराब कर्जा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको पुस मसान्तमा बैंकको खराब कर्जा ०.७७ प्रतिशत रहेको थियो भने चालु आवको दोस्रो त्रैमासमा ०.११ प्रतिशत विन्दुले घटेर ०.६६ प्रतिशतमा आएको छ ।
बैंकहरुको खराब कर्जा यस्तोः