नबिल र इन्भेस्टमेन्ट बैङ्कलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ :
सन् १९८० को दशकबाट प्रारम्भ भएको उदारीकरणको प्रभाव स्वरूप लामो समयदेखिको नेपालको बैंकिङ   क्षेत्रका एकाधिकारी सरकारी बैंकहरुको प्रतिस्पर्धा गर्ने निजी क्षेत्रलाई अनुमति दिएपछि सुरुवातमा खुलेका हालका नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले उक्त समयदेखि हालसम्म खुलेका बैंकहरु मध्ये आफूलाई अग्रणी संस्थाका रूपमा अघि बढाउदै आइरहेका कुरा हालै प्रकाशित तेस्रो त्रैमासको प्रतिवेदनले पनि पुष्टि गरेको छ ।
स्थापनाकालदेखि वित्तीय रूपमा सबल रहेका तथा आफ्ना शेयरधनीलाईपनि उत्कृष्ट प्रतिफल प्रदान गर्दै आइरहेकाले यी दुवै बैंक लगानीकर्ताको पहिलो रोजाइमा पर्ने बैंक रहेका छन्। हेरौँ यी दुवै बैंक बिचको ईक्यूटि डेस्कले गरेको विश्लेषण :

चुक्ता पूँजी :
चुक्ता पूँजीका हिसाबले नेपाली बैंकहरु मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी ( दश अर्ब ६४ करोड)  सहित नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो स्थानमा रहेको छ भने नबिल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रहेको छ। इतिहास हेर्दा यी दुवै बैंकले व्यवसाय वृद्धि सँगै निरन्तर पूँजी बदाउदै लाग्ने गरेका छन्। जसका कारण दुवै बैङ्कलाई राष्ट्र बैंकले केही समय अघि तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब सजिलै बोनस शेयर वितरण गरेर हासिल गर्न सफल भए।
साथै यी दुवै बैंक अहिलेकै  पूँजीमा सिमित नभई थप पूँजी  वृद्धि गर्ने स्पष्ट रूपमा जनाई नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो अधिकृत पूँजी  १५ अर्ब पुर्‍याएको छ भने नबिल बैंकाले आफ्नो अधिकृत पूँजी  १० अर्ब पुर्‍याएको छ।
जगेडा कोष :
जगेडा कोषको आकार दुवै बैंकको चुक्ता पूँजीभन्दा धेरै रहेको छ। योमानेमा दुवै बैंक वित्तियरुपमा सबल रहेका देखिन्छ ।
निक्षेप सङ्कलन र कर्जा प्रवाह :
दुवै बैंकको निक्षेप सङ्कलन र कर्जा प्रवाह १ खर्ब माथि छ।   नेपाल इन्भेस्टमेन्टले १ खर्ब ३० अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब १८  अर्ब कर्जा प्रवाह गरेको छ। त्यस्तै नबिल बैंकले १ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको छ।  नेपाल इन्भेस्टमेन्टको निक्षेप ९ प्रतिशतले वृद्धि देखिएको छ भने नबिल बैंकको निक्षेप ५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै नेपाल इन्भेस्टमेन्टको र नबिल दुवैको कर्जा प्रवाह १७ प्रतिशतले वृद्धि भएको छ।
खुद ब्याज आम्दानी
नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ११ करोड खुद ब्याज आदानी मार्फत कमाएको छ भने नबिल बैंकले ४ अर्ब ४९ करोड खुद ब्याज आम्दानी मार्फत कमाएको छ।  नेपाल इन्भेस्टमेन्ट बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले वृद्धि भएको छ भने नबिल बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले वृद्धि भएको छ।
खुद नाफा
निरन्तर पूँजी वृद्धि गरेसँगै दुवै बैंकहरुले आफ़ो व्यवसायलाईपनि वृद्धि गर्दै खुद मुनाफालाई हरेक वर्ष बढाउदै लागेका छन्।  नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ८३ करोड खुद नाफा गरेको छ भने नबिल बैंकले २ अर्ब ७९ करोड खुद नाफा गरेको छ। तेस्रो त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंकको  नाफा १९  प्रतिशतले वृद्धि भएको छ भने नबिल बैंकको खुद  नाफा ४  प्रतिशतले मात्र वृद्धि भएको छ।
प्रतिशेयर आम्दानी :
नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ २४ पैसा रहेको छ भने नबिल बैंकको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८९ पैसा रहेको छ।  नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी २ प्रतिशतले घटेको छ भने नबिल बैंकको प्रतिशेयर आम्दानी १९ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब चुक्ता पूँजी  पुर्‍याउने क्रममा यी दुवै बैंकले हकप्रद शेयरको सहारा नलिईकन बोनस शेयरबाटै राष्ट्र बैंकले तोकेको पूँजीको लक्ष्य सजिलै बोनस शेयरबाट प्राप्ति गरेकाले अन्य बैंकको तुलनामा अहिलेपनि दुवै बैंकको  प्रतिशेयर आम्दानी ठुलो मात्रामा नघट्नुको प्रमुख कारण यही रहेको छ।
कोषको लागत र आधार ब्याज दर :
अधिकांश बैंकको तुलनामा दुवै बैंकको  कोषको लागत र आधार ब्याज दर सस्तो छ।  जसले गर्दा उक्त बैङ्कका कर्जाका ग्राहकले  सस्तो दरमै कर्जा पाइरहेका हुन्छन् ।  तेस्रो त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंकको भन्दा नबिल बैंकले सस्तोमा निक्षेप सङ्कलन गरेको पाइन्छ  ।
कुन सस्तो छ ?
वैशाख १३  गतेको बजार मूल्य हेर्दा  नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर  छ सय ७० रुपैया प्रति कित्तामा कारोबार भईरहेको छ भने नबिल बैंकको शेयर एक हजार ३० रुपैयामा कारोबार भईरहेको छ। चुक्ता पूँजी धेरै भएकाले नेपाल इन्भेस्टमेन्ट बैंकको शेयरको आपूर्ति बजारमा धेरै भएकाले पनि मूल्य नबिल बैंकको तुलनमा  कम रहेको छ।
वैशाख १३  गतेको बजार मूल्यका आधारमा   नबिल बैंकको मूल्य आम्दानी अनुपात २१ दशमलव ९९  गुणा रहेको छ भने  नेपाल इन्भेस्टमेन्ट बैंकको मूल्य आम्दानी अनुपात १८ दशमलव ८४ गुणा रहेको छ।
त्यस्तै बजार मूल्य र  कितावी मूल्यको  अनुपात ( प्राइस टु  बुक भ्यालु रेसियो ) बाट हेर्दा नबिल बैंकको अनुपात ४ दशमलव  ९०  गुणा रहेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको ३ दशमलव ३० गुणा रहेको छ।
यी दुवै अनुपात हेर्दा बजारमा नबिल बैंक भन्दा नेपाल इन्भेस्टमेन्ट बैंक बजारमा सस्तो छ भन्ने कुरा पुष्टि हुन्छ।
लाभांश इतिहास :
विगत लामो समयको इतिहास हेर्दा उनीहरू लाभासको हिसाबमा ब्लु चिप कम्पनी नै हुन्। विगत सात वर्षदेखि दुवै बैङ्कका लगानीकर्ताले हरेक वर्ष राम्रो प्रतिफल पाइरहेका इतिहास हेर्दा आउनेदिनमा पनि दुवै बैंकले राम्रै प्रतिफल प्रदान गर्ने उनीहरूको वित्तीय प्रतिवेदन मार्फत बुझ्न सकिन्छ। 
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार