नेपालको जलविद्युत अयोजनामा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकलाई आग्रह

Garima_Business-Loan3

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् ।

यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायतले सहवित्तीयकरणमा लगानी गर्ने तयारी गरेका छन् ।

यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजनामा एसियाली विकास बैङ्कले लगानीका लागि प्रतिबद्धतत जनाएको छ । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानीका लागि प्रारम्भिक इच्छा व्यक्त गरेको भए पनि प्रक्रिया अगाडि बढेको थिएन ।

विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीलाई मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट सबैभन्दा बढी प्रभावित भएकाले सहुलियतपूर्ण ऋण र जलवायु कोषबाट प्राथमिकता पाउनुपर्ने बताए ।

मन्त्री बस्नेतले नेपालको ऊर्जा उत्पादनमा भौगोलिक सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पनि ती आयोजना आवश्यक रहेको तथ्य पेस गर्दै लगानीका लागि आग्रह गरे । जवाफमा विश्व बैङ्क र एसियाली विकास बैङ्कका उपाध्यक्षलगायत अधिकारीले नेपालको आवश्यकतालाई सम्बोधन गर्ने गरी सहुलियतपूर्ण ऋण, व्यवसायीय ऋण वा अन्य कुनै वित्तीय उपकरणमार्फत आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका थिए । लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैङ्कका उपाध्यक्ष मार्टिन रेजर र एसियाली विकास बैङ्कका उपाध्यक्ष यिङ मिङ यान लगायत अधिकारीले आज ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार