CLI

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ। मंगलबार वैशाख १८ गतेका दिन सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. ई. तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले एक कार्यक्रमका बिच नियुक्ति सहमति पत्रमा हस्ताक्षर गरे। आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ।

कम्पनीले अंकित मूल्य रू. १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता रू. २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष पोखरेलले जानकारी दिए। हाल कम्पनीको प्रति शेयर नेट वर्थ रू. १०३.५८ रहेको छ भने फेयर मार्केट भ्यालु रू. ४५० रुपैयाँभन्दा बढी रहेको अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो। कम्पनीले आफ्नो चुक्ता पूँजी रु १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता (रू. १ अर्ब १६ करोड ६० लाख)को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपिओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ।

महतो समुहको प्रमुख लगानी रहेको सोपान मल्टिपल कम्पनी लिमिटेड एक होल्डिङ (ईन्भेष्टमेन्ट) कम्पनी हो। डा. उपेन्द्र महतो, डा. बिरेन्द्र प्रसाद महतो, इ. रामेश्वर रिजाल, डा. इ. तारा प्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोक कुमार खड्का , इ. वसन्त चन्द्र मरहट्टा लगायतको सबल नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियल स्टेट, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी बिस्तार गर्दै आएको छ । यस कम्पनीको मातहतमा कान्तिपुर ईन्जिनियरिङ्ग कलेज, एक्मी ईन्जिनियरिङ्ग कलेज, सोपान फर्मास्युटिकल्स लि., मोल्नीया पावर लि., मैलुङ्ग खोला जलबिद्युत कम्पनी लि., माथिल्लो मैलुङ्ग खोला जलबिद्युत कम्पनी लि., सोपान प्रोपर्टिज कम्पनी लि. रहेका छन्। सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा विकास गरिएको देशकै नमुना अत्याधुनिक प्रबिधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितो पत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ।

स्थापनाकै बेला पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागितामुलक लगानीलाई अझ बिस्तार गर्दै लैजाने योजना अनुरूप आईपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए।

Leave Your Comment

Related News