‘प्राधिकरण अध्यक्षको हैसियत गभर्नर जस्तो हुनु पर्छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेश पुडासैनीले प्राधिकरणको अध्यक्षको हैसियत राष्ट्र बैंकको जस्तो हुनु पर्ने बताएका छन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार आयोजना गरेको दूरसञ्चार सम्मेलनमा पूर्व अध्यक्ष पुडासैनीले प्राधिकरणको अध्यक्षको हैसियत गभर्नर जस्तो हुनु पर्ने टिप्पणी गरेका हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई मन्त्रालयको एउटा विभागको जस्तो व्यवहार गर्ने गरेको उनको भनाइ छ।

मन्त्रालयले प्राधिकरणलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको उनले बताए। ा
‘प्राधिकरण मन्त्रालय मातहको विभाग हैन,’ पुडासैनीले भने, ‘मन्त्रालयले प्राधिकरणको अध्यक्षलाई कुनै एक विभागको सहसचिव जस्तो व्यवहार गरिरहेको छ।’

प्राधिकरणको अध्यक्षलाई राष्ट्र बैंकको गभर्नर जस्तै हैसियत प्रदान गर्न उनले माग गरे। वित्तीय क्षेत्रमा गभर्नर जिम्मेवार रहन्छन् भने टेलिकम क्षेत्रमा प्राधिकरण अध्यक्ष जिम्मेवार हुनुपर्छ।

यस्तै पुडासैनीले दूरसञ्चार प्राधिकरणको नेतृत्वमा सिपको कमी रहेको पनि बताए।
हालको दूरसञ्चार प्राधिकरण नेतृत्वमा अनुभव तर्फ संकेत गर्दै उनले भने,
‘म प्राधिकरणको दोस्रो अध्यक्ष हुँदा चार जना विज्ञ थिए। उनीहरुको विभिन्न क्षेत्रमा लामो अनुभव थियो। उनीहरु मेरा सल्लाहकार थिए। अहिले प्राधिकरण अध्यक्षका लागि कुनै सल्लाहकार छैनन्।’

सल्लाहकार नहुँदा विगत लामो समयदेखि प्राधिकरणमा सिपको कमी देखिएको उनको बुझाइ छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार