जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ आयोजना हुने, प्राथमिकतामा उच्च व्यवस्थापक

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी जेठ १८ गते शुक्रबार काठमाडौं ‘सीईओ कन्फरेन्स’ आयोजना गर्ने भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुनेछ।

सम्मेलनको जानकारी दिन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहनराज ओझा निर्णय गर्ने तहमा रहेका निजी क्षेत्रका उच्च व्यवस्थापकलाई ध्यानमा राखेर सम्मेलन गर्न आयोजना गर्न लागिएको जानकारी दिए। सम्मलेनमा सीसीओ, सीईओ, जनरल म्यानेजर, म्यानेजर डाइरेक्टर, एक्ज्यूकेटिभ डाइरेक्टर, बोर्ड अफ डाइरेक्टर, चेयर म्यान लगायत उच्च तहमा व्यक्तिको क्षमता अभिवृद्धि गर्न सम्मेलनले मद्दत गर्ने उनले विश्वास व्यक्त गरे।

कोभिङ–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।

अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक हुन्छ । सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउन महत्वपूर्ण हुन्छ ।

‘यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ, भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले ’सीईओ कन्फरेन्स’ आयोजना गर्न लागेको हो,’ नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने । सम्मेलनको मुख्य विषयवस्तु ’कामको भविष्य परिवर्तित परिदश्य आत्मसात’ रहेको छ । सम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।

सम्मेलनको संयोजकमा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र रहेका छन्। सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने उनले जानकारी दिए। पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म, तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी रहेका छन् ।

कार्यक्रमका मुख्य वक्ताहरू स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बागला, एम२पी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्के रहेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार