भारतले विस्पोटक पदार्थ आयात गर्न अनुमतिपत्र नदिँदा करिब ५० जलिविद्युत आयोजना प्रभावित, सुरुङ र पहुँच मार्ग बनाउन समस्या

काठमाडौं । विस्पोटक पदार्थको अभावमा नेपालमा निर्माणाधिन करिब ५० वटा जलविद्युत परियोजना प्रभावित भएका छन्। भारतीय दुतावासले विस्पोटक पदार्थ आयात गर्न स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) नदिँदा र नेपाली सेनाबाट प्रयाप्त मात्रामा विस्पोटक पदार्थ उपलब्ध हुन नसक्दा करिब ५० वटा जलविद्युत परियोजना समस्या परेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष आनन्द चौधरीले जानकारी दिए।

नेपालका जलविद्युत परियोजनामा चिनियाँ लगानी बढेको भन्दै भारतले विस्पोटक पदार्थको आयातमा कडाई गर्दै आइरहेको छ। भने नेपाली सेनाले विस्पोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने प्रयाप्त कज्चा पदार्थ आयात गर्न नसकिएको भन्दै जलविद्युत परियोजनालाई विस्पोटक पदार्थ दिन सकिरहेको छैन।

‘चिनियाँ लगानीका जलविद्युत परियोजनाले चीनबाट विस्पोटक पदार्थ ल्याएर काम गरिरहेका छन्। भारतबाट विस्पोटक पदार्थ नआउँदा नेपाली जलविद्युत परियोजनाले समस्या भोग्नु परेको छ,’ उपाध्यक्ष चौधरीले भने।

विस्पोटक पदार्थको अभावमा १४० मेगावट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेड, २२ मेगावट क्षमताको रोल्वालिङ्ग खोला जलविद्युत आयोजना, ५६ मेगावट क्षमताको सानिमा जुम हाइड्रो पावर कम्पनी, ५० मेगावट क्षमताको दाना खोला जलविद्युत आयोजना, मनाङ मर्स्याङदी जलविद्युत आयोजना र अपर त्रिशुली १ लगायत जलविद्युत परियोजना विस्पोटक पदार्थको अभावमा प्रभावित भएको इप्पानले जानकारी दिएको छ। यी जलविद्युत परियोजनाले विगत चार महिनादेखि विस्पोटक पदार्थ पाउन सकेका छैन्।

विस्पोटक पदार्थको अभावमा सुरुङ निर्माण, जलविद्युत परियोजनाको पहुँच मार्ग निर्माणमा समस्या भइरहेको उपाध्यक्ष चौधरीले जानकारी दिए।

कुटनीति पहल मार्फत विस्पोटक पदार्थको आयात सहजिकरण गर्न इप्पानले गत वैशाख २४ गते मुख्य सचिव बैकुण्ठ अर्याल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साईलाइ पत्र लेखेको छ।

नेपाली सेना सूचना अधिकारी गौरवकुमार केसीले कज्जा प्रदार्थको अभावमा मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा विस्पोटक पदार्थको अभाव सिर्जना भएको जानकारी दिए।
‘केही मात्रमा कच्चा पदार्थ आयात भइरहेको छ। केही आउने क्रममा छ। आउने क्रममा रहेका कच्चा पदार्थले माग धान्छ कि धान्दैन अर्को प्रक्रिया भयो। हामीले दिन नसक्दा कम्पनीहरुले बाहिरबाट आयात गरेर प्रयोग गरिराख्नु भएको छ,’ केसीले ईक्विटीनेपाललाई भने, ‘त्यसका लागि सेनाले आवश्यक सहजिकरण गर्दै आइरहेको छ।’ कच्चा पदार्थ चाँडै आउने आफूलाई जानकारी भएको उनले बताए।

सेनाको इमल्सन प्लान्टको वार्षिक उत्पादन क्षमता २४ सय मेट्रिक टन छ। नेपाली सेनाले उत्पादन गर्ने विस्पोटक पदार्थले नेपालका जलविद्युत परियोजनाको माग धान्न सक्ने उपाध्यक्ष चौधरी बताउँछन्।
‘कच्चा पदार्थको अभावमा सेनाले प्रयाप्त विस्पोटक पदार्थ उत्पादन गर्न सकिरहेको छ। सेनाको प्लानले नेपालका जलविद्युत परियोजनाका लागि आवश्यक पर्ने करिब १५÷२० प्रतिशत मात्र धान्ने गरेको छ,’ चौधरीले भने। बाँकी भारतबाट आयात गरेर माग पुरा गर्ने गरिएको उनले बताए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार