मापदण्ड विपरितका काठमाडौंका चार ट्रयाल सेन्टर बन्द

काठमाडौं । सवारीचालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा (ट्रायल) लिइने ड्राइभिङ स्कुलहरु नै मापदण्ड विपरित रहेको र सेवाग्राहीबाट मनलाग्दी शुल्क उठाउने गरेको पाइएपछि सरकारले ट्रायल सेन्टरबाट हुने ट्रायल परीक्षा बन्द गरिएको छ । ट्रायल सेन्टरहरुले मनोमानी रुपमा शुल्क उठाउने तथा पूराना सवारीमार्फत प्रयोगात्मक परीक्षा लिने गरेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय सतर्कता केन्द्रले यसबारे चासो लिएको थियो ।

केन्द्रले प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै मापदण्ड जाँच गर्न र जाँच नभएसम्म ति ट्रायल सेन्टरबाट प्रयोगात्मक परीक्षा लिने काम बन्द गर्न भनेको थियो । केन्द्रको यो निर्देशन लगत्तै इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रा.लि. गुर्जुधारा काठमडौँ, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. एकान्तकुनाबाट लिने गरिएको ट्रायल परीक्षा बन्द भएको छ ।

यी ट्रायल सेन्टरबाट बिहीबारदेखि नै सवारीचालक अनुमति पत्रका लागि लिने प्रयोगात्मक परीक्षाको सेवा बन्द गरिएको हो ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनअनुसार मन्त्रालयले प्राविधिक टोली बनाएर ति ड्राइभिङ स्कुलहरुको परीक्षण सुरु गरिएको छ । परीक्षण टोली मापदण्ड लगायतका विषय जाँच गरेर रिपोर्ट बुझाउनेछ ।

केन्द्रले यस सम्बन्धमा अख्तियार दुररुपयोग अनुसन्धान आयोगलाई समेत पत्रको बोधार्थ दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार