अर्थमन्त्रीको दाबीः ‘दबावमा प्रधानमन्त्रीको स्वर्गिय श्रीमति सीता दाहालको नाममा कलेज स्थापना गर्न लागिएको हैन’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दबावमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वर्गिय श्रीमति सीता दाहालको नाममा कलेज स्थापना गर्न नलागिएको दाबी गरेका छन्। अर्थमन्त्रालयमा बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले यस्तो दाबी गरेका हुन्।

मंगलबार बजेट वक्तव्यका क्रममा अर्थमन्त्री पुनले प्रधानमन्त्रीको स्वर्गिय श्रीमति सीता दाहालको नाममा कलेट स्थापना गरिने बताएका थिए। बजेट वक्तव्यमा उनले भनेका थिए, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’

प्रधानमन्त्रीको स्वर्गिय श्रीमति सीता दाहालको नाममा बन्ने कलेजका लागि बजेट विनियोजन गरेको तर्फ इंकित गर्दै अर्थमन्त्री पुनले भने, ‘ काठमाडौं विश्वविद्यालय आफ्नै स्रोतमा कार्यक्रम गर्नका लागि सबै तयारी गरिसकेको छ। त्यसका लागि समान्य टोकन मनी राख्न प्रस्ताव आएको थियो। उहाँहरुको प्रस्ताव स्वीकृत गरिएकाले बजेटमा बोलिएको हो। यसका लागि बजेट पनि राखिएको छ।’

यस कार्यक्रमका लागि कति बजेट विनियोजन गरिएको भन्ने उनले जानकारी दिएनन्। काठमाडौं विद्यालय आफै स्रोत निकालेर आफ्नै जनशक्तिमा आफ्नो पहलमा बनाउन लागेकाले बजेट मार्फत सम्बोधन गरिएको उनको दाबी छ।

आगामी आवको बजेट तयार गर्दा विभिन्न नाताहरुको नाममा संरचना र कार्यक्रमहरुमा लगानी गर्न धेरै सतर्कता अपनाइएको उनको भनाइ छ। यस पटक पनि राष्ट्रपति प्रधानमन्त्री, नेताहरुको नाममा कार्यक्रम बनाउन तथा बजेट विनियोजन गर्न राजनीतिक दबाव आएको उनले स्वीकर गरे।

‘विगतका बजेटमा कार्यक्रम र त्यसको कन्टेन्ट भन्दा पनि नेताको नाममा बढी बजेट प्रवाह हुन्थ्यो। यस पटकको बजेटमा एकाद केही आएको छ,’ पुनले भने।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार