इचंगुनारायणको सुकुम्बासी भवनलाई आईटी पार्क बनाइने

काठमाडौं ।

निर्दोष घोरसाइने

सरकारले आईटी पार्क स्थापना गर्न ठाउँ खोज्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईटी पार्कका लागि उपयुक्त स्थान खोज्न सुरु गरेको जानकारी दिएको छ। सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले आईटी पार्कका लागि काठमाडौं नागार्जुन नगरपालिकामा स्थिति इचंगुनारायणलाई विकल्पको रुपमा हेरिएको बताए।

‘सुकुम्बासी राख्ने भनेर सरकारले इचंगुनारायणमा भवन बनाएको छ। त्यहाँका केही भवन हालसम्म पनि प्रयोग बिन छन्। चक्रपथबाट २, ३ किलोमिटर मात्र टाढा छ। उक्त स्थान उपयुक्त हुन सक्ने बुझेर मन्त्रालयले अवलोकन गरेको छ,’ सापकोटाले भने, ‘पुराना संरचना भएकाले थोरै खर्चमा मर्मत सम्भार गरेर प्रयोग गर्न सकिने अवस्थाको छ। सरोकार निकाय, स्थानीय र मन्त्रालयसँगको सहकार्य तथा छलफलबाट निर्णय लिने छौं।

सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोबास उपलब्ध गराउन २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले इचंगुनारायणमा अपार्टमेन्ट निर्माण परियोजना सुरु गरेका थिए। सरकारले २०६९ साल भदौमै आवास परियोजना सुरु गरेर भवन निर्माण विभागलाई हस्तान्तरण गरेको थियो। भवन निर्माण कार्यले भने २०७३ सालमै पूर्णता पाएको थियो। स्थानीय अवरोध र वास्तविक सुकुम्बासी पहिचान सम्बन्धी विवादका उद्देश्य अनुरुप भवनको प्रयोग हुन सकिरहेको छैन। अब पुन सरकारले यसलाई सूचना प्रविधि पार्कको रुपमा विकास गर्न खोजिरहेको छ।

मुख्यमन्त्री र प्रदेश प्रमुख आवास

सुबुम्बासीलाईका लागि भनेर तयार गरिएको भवनमा उनीहरुलाई राख्न नसके पछि सरकारले अर्को विकल्पको रुपमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख आवासको रुपमा विकास गर्न पनि खोजेको थियो। २०७४ सालको संविधानसभाको दोस्रो निर्वाचनपछि यो भवनलाई सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास बनाउनेबारे समेत छलफल भएको थियो। २०७५ साल साउनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र शहरी विकास मन्त्रालयका पदाधिकारीको संयुक्त टोलीले उक्त भवन अवलोकन गरेको थियो। चार सय वर्गफिट क्षेत्रफल भएका साँघुरा एकाईमा मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास उपयुक्त नहुने निष्कर्षसहित प्रस्ताव अगाडि बढ्न सकेन। सातै प्रदेशका मुख्यमन्त्री र संघका मन्त्रीहरूका लागि ललितपुरको भैंसेपाटीमा २७ रोपनी १३ आना क्षेत्रफलमा ८५ करोडको लागतमा निर्माण आवास निर्माण भइसकेको छ।

अब आईटी पार्क

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा ‘काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधार सहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइनेछ। यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलव्ध गराइनेछ’ उल्लेख छ। काठमाडौं उपत्यकामा ठूला खाली भवन पाउन भेट्न मुस्किल छ। यस्तोमा लामो समयसम्म प्रयोग हुन नसकेको सरकारी भवन इचंगुनारायण रहेकालाई यसलाई उपयोग गर्ने योजनामा सञ्चार मन्त्रालय रहेको छ।

भवन पूर्ण सदुपयोग हुन सकेन

२०७२ सालको भूकम्प अघिसम्म उक्त भवन नभएको नागार्जुन नगरपालिकाको उपमेयर शुशिला अधिकारीकाले जानकारी दिइन्। ‘निर्माण भएको लामो समयसम्म प्रयोग नहुँदा भवन जिर्ण अवस्थामा छ। त्यहाँ बत्ति, पानी देखि लिएर आधारभूत सूविधाको अभाव थियो,’ उपमेयर अधिकारीले भनिन्, ‘नगरपालिकाको साथ र केन्द्रिय सरकारको सहयोगमा केही भवन तथा फ्ल्याट प्रयोगमा आएका छन्। तर अधिकतम संरचना खाली नै छन्।’

त्यहाँ निर्माण भएका ६ भवन मध्ये हाल दुई भवन मात्र प्रयोगमा छन्। एउटा भवन केन्द्रिय सरकारले मानवसेवा आश्रमका लागि दिएको छ भने एउटा भवनको एकै फ्ल्याटमा वडा नम्बर १ को कार्यालय र स्वास्थ्य चौकी छ भने अर्को फ्ल्याटमा प्रहरी चौकी बसेको छ। बाँकी भवन र फ्ल्याटहरु खाली नै रहेको उनको भनाइ छ। साथै कोभिड महामारीको समयमा नगरपालिकाले उक्त भवनलाई आइसुलेसन सेन्टरको रुपमा प्रयोग गरेको उनले जानकारी दिइन्।

‘प्रयोग नभएको संरचनालाई राज्यले उपयोग गर्ने नीति लिएको छ। राज्यले चाहेमा आईटी हब बनाउन सक्छ। यहाँ वस्ने वातावरण राम्रो छ। अन्य सहयोगका लागि स्थानीयतह पनि तयार छ,’ उनले भनिन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार