विभागद्धारा ७९ अर्बको लगानी प्रतिवद्धता र २६ अर्ब लाभांश वितरण

काठमाडौं । नेपालको उद्योग तथा व्यवसायमा लगानी रकम आउने र लगानी गरे पश्चयात लैजाने मुनाफाले निरन्तरता पाएको छ । २२ महिनाको अवधिमा विदेशी लगानीकर्ताले ७९ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाउँदा २६ अर्ब रुपैयाँ लाभांश लैजान सफल भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष देखि चालु आर्थिक वर्षको वैशाखसम्ममा विदेशी लगानीकर्ताले ७९ अर्ब ७९ करोड २७ लाख रुपैयाँ लगानी प्रतिवद्धता जनाएका छन् । जुन चालु आर्थिक वर्षको वैशाखसम्ममा ४१ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ र गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ लगानी प्रतिवद्धता जनाएका हुन् । विभागका निर्देशक शंकर सिंह धामीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा लगानी प्रतिवद्धता रकम बढ्न पुग्दा तुलनात्मक रुपमा धेरै देखिएको बताए । लगानीकर्ताले आफनो अनुकुल हेरेर लगानी रकम भित्राउने गरेको निर्देशक धामीले इक्विटी नेपाललाई बताए ।

त्यस्तै, समीक्षा अवधिमा विदेशी लगानीकर्ताले लगानी प्रतिफल स्वरुप २६ अर्ब २७ करोड ६२ लाख रुपैयाँ लाभांश लगेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा ९ अर्ब २९ करोड ५ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष १३ अर्ब ७९ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो  । निर्देशक धामीले मासिक रुपमा करोडौँ लाभांश वितरण गर्दै आएको कारण लाभांश रकम ठूलो देखिएको बताउदै लगानी रकम र लाभांश रकममा फरक पर्ने बताए । लाभांश लगानीकर्ताले आफूलाई चाहे पश्चयात राष्ट्र बैंकमा लेखांकन पश्चयान लैजाने गरेका छन्, उनले भने । विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा ४ करोड ७६ लाख रुपैयाँ, असोजमा १ करोड १४ लाख रुपैयाँ कात्तिकमा १ अर्ब ९ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ, पुसमा ८ करोड ७३ लाख रुपैयाँ, माघमा ६ अर्ब ९७ करोड रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ, चैतमा ३ करोड ३ लाख रुपैयाँ र वैशाखमा २४ करोड १७ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ ।

उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक रहेका छन् ।

निर्देशक धामीले समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्ष वैशाख मसान्तसम्ममा ४३ वटा उद्योगको लागि ९ अर्ब ४७ करोड ४५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । वैशाखमा मात्र दुईवटा उद्योगका लागि ४१ करोड ५० लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा ४९ वटा र वैशाखमा मात्र १२ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । यसैबीच नेपालमा लगानी गरी सकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ ।

त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला  २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार