कृषि विकास बैंकले उठाउन सकेन ५८३ ऋणीबाट २ अर्ब ७ करोड ब्याज र ऋण

काठमाडौं । कृषि विकास बैंकले ऋणीमार्फत् साँवा र ब्याज उठाउन सकेको छैन । यो सँगै बैंकले ५ सय ८३ जना ऋणमार्फत् २ अर्ब ७ करोड रुपैयाँ भन्दा बढीको ऋण र ब्याज असुल गर्न सकेको छैन । ऋण र ब्याजको छुट्टै अभिलेख नराख्दा बैंकलाई ऋण र ऋणवापतको ब्याज उठाउन समस्या भएको छ । आर्थिक वर्ष २०७९÷८० सम्ममा अपलेखन गरेको ५८३ ऋणीको ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ ऋण र १ अर्व ७० करोड ८ लाख रुपैयाँ व्याज असुल गर्न बैंकले सकेको छैन । त्यसैले गर्दा ऋण र ऋणवापत्को ब्याज असुल गर्नका लागि कार्ययोजना बनाई अघि बढ्न महालेखाले आफनो ६१ औं प्रतिवेदनमार्फत् बैंकलाई सुझाव दिएको छ ।

साथै , बैङ्कले कर्जा असुली कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम कर्जा भुक्तानी गर्ने सम्बन्धी स्मरण पत्रहरू पठाउने, कर्जा भुक्तानी गर्न ताकेता पत्र पठाउने, कर्जा भुक्तानी तथा लिलामीको सूचना प्रकाशित गर्ने, कालोसूचीमा नाम समावेश गर्ने र ऋण असुली न्यायाधिकरणमा उजुरी दर्तालगायतका कार्य प्रभावकारी रूपमा कार्यान्वयन नगरेको अरोप महालेखाको रहेको छ । बैङ्कबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७८÷७९ को ो अन्त्यमा निष्क्रिय कर्जा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा उक्त रकममा वृद्धि भई ५ अर्ब ८ करोड २० लाख रुपैयाँ पुगेको छ । कार्ययोजना बनाई निष्क्रिय कर्जा असुल गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, खराब कर्जा लगायतका कारणले गर्दा बैङ्कले आर्थिक वर्ष २०७९÷८० लागि कुनै लाभांश प्रस्ताव गरेको छैन । बैङ्कले २०७१।७२ र २०७२।७३ को नगद लाभांश ४ करोड ५४ लाख ९४ हजार रुपैयाँ नेपाल सरकारलाई भुक्तानी गर्न बाँकी रहेको छ । उक्त रकम नेपाल सरकारको सचितकोषमा दाखिला हुनुपर्दछ । सहुलियतपूर्ण कर्जाको हकमा भने बैङ्कले उपलब्ध गराएको सहुलियतपूर्ण कर्जाहरू तोकिएको क्षेत्रमा प्रयोग हुनुपर्दछ । यो वर्ष व्यावसायिक कृषि, विपन्न व्यवसायी, महिला उद्यमीलगायतका क्षेत्रमा २० अर्ब ७४ करोड २८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । छनोटमा परेका ५० लाखभन्दा बढी ऋण लिने ४४२ ऋणीको ऋण ४ अर्ब २१ करोड ३९ लाख रुपैयाँमा बैङ्कले ४५ करोड २८ लाख रुपैयाँ व्याज अनुदान दिएको छ । ऋण रकमको प्रभावकारी अनुगमन गरी निर्धारित क्षेत्रमा तोकिएका उद्देश्य हासिल गर्न खर्च भएको सुनिश्चित गर्नुपर्दछ ।

त्यस्तै, मुलुकको कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले संस्थागत ऋण उपलब्ध गराउन २०२४ सालमा स्थापित यस बैङ्कले २०३० सालदेखि सेवा प्रदान गर्दै आएको छ । बैङ्कमा नेपाल सरकारको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ । बैङ्कको शाखासमेत ३०१ कार्यालय रहेका छन् । वित्तीय स्थिति र सञ्चालन नतिजा हेर्दा बैङ्कको २०८० असार मसान्तमा शेयर पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष तथा सञ्चित नाफा १४ अर्ब ९० करोड ९३ लाख रुपैयाँ र निक्षेप तथा दायित्व २ खर्व ३१ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रहेको छ । स्थिर सम्पत्ति २ अर्ब २९ करोड १० लाख रुपैयाँ, शेयर लगानी ५७ अर्ब ४१ करोड १० लाख रुपैयाँ , कर्जा लगानी १ खर्व ८० अर्ब ४३ करोड ८१ लाख रुपैयाँ र अन्य सम्पत्ति. २५ अर्ब ५३ करोड ९ लाख रुपैयाँ समेत २ खर्व ६५ अर्ब ६७ करोड १० लाख रुपैयाँ सम्पत्ति रहेको छ। खुद मुनाफा गत वर्ष २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ मात्र रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार