सवा खर्व लगानीमा ग्राण्ड सेन्ट्रल होटल संचालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । नेपालको कोशी प्रदेश सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ ले ‘आइआरएन बीबी(डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ पाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेतको एकल लगानीमा संचालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फत छोटो अवधिका लागि ३ करोड रुपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।

विन्धाम होटल एशिया प्यासिफिक प्रा.लि.बाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीलाई दिईएको उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिईएको प्राथमिकतालगायतलाई पनि आधारमा लिएर दिईएको बताईएको छ ।

बस्नेतको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विन्धामसँगको सहकार्यमा रामडा ब्राण्डलाई भित्र्याएको हो । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु संचालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको हो ।

यस्तै होटलको कुल लगानी १ अर्ब ७ करोड २० लाखमा निर्माण भइरहेको छ । होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६को सुरुवातमै पूर्ण संचालनमा आईसक्ने बताईएको छ । होटल रहेको स्थान नेपाल भारत सीमाभन्दा ३० किलोमिटरको दुरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनौट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार