प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यावसायीको भेटः नेपालमा लगानी गर्न आग्रह

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूबीच छलफल भएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपर्युक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताएका छन् ।

“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।”

भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालिन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा. अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले नेपालमा लगानीका लागि उत्साहित रहेको बएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार