१९ खर्ब ४२ अर्ब पुग्यो विनिमय सञ्चिति, १२.६ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्थाको विवरण अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ बैशाख मसान्तमा २६.२ प्रतिशतले वृद्धि भई १९४२ अर्ब ४० करोड पुगेको जनाइएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु.१७२२ अर्ब २ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई रु.२२० अर्ब ३८ करोड कायम भएको छ ।

२०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार