ओलीको बजेट फेल गराउने धम्कीपछि श्रेष्ठलाई सेबोन दिन प्रचण्ड गले

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बजेट नै फेल गराउने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्ड गलेका छन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीको विषयलाई लिएर प्रचण्ड र ओलीबिच आ आफ्नै अडान कायम थिए । ओलीले सन्तोष नारायण श्रेष्ठका नाममा अडान कसेका थिए भने प्रचण्डले श्रेष्ठ बाहेकका उम्मेदवार अघि सार्न सकिने भनेका थिए ।

तर बुधबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीको लाइन सुनेर प्रचण्ड पनि झस्किएको स्रोत बताउँछ । प्रचण्डले बजेट पास गरेपछि मात्रै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्ने तयारी गरेका थिए । तर बुधबार ओलीले बजेट अगावै बोर्डमा नयाँ अध्यक्ष पढाउनुपर्ने र सन्तोष नारायण श्रेष्ठका नाममा सहमति हुनुपर्ने धारणा राखे ।

सरकारले नेपाल दुर सञ्चार प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल पुनर्बीमा कमपनीमा माओवादी निकटहरुलाई नियुक्त गरेपछि ओली रिसाएका थिए । उनले अब भने धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठको विकल्प दिन नसकिने अडान कसेको स्रोत बताउँछ ।

बुटवलका काँग्रेस कार्यकर्ता श्रेष्ठलाई अध्यक्ष बनाउन नहुने आवाज एमाले वृत्तमा उठेको भए पनि ओलीसँग यस बिषयमा कसैले औपचारिक कुरा गर्ने हिम्मत भनेका गरेका छैनन् ।

माओवादीले नियुक्तीहरुमा एकलौटी गरेकाले बोर्डमा भने श्रेष्ठको नामबाट पछि नहट्ने अडानमा केपी ओली देखिन्छन् ।
बोर्ड अध्यक्षको प्रतिष्पर्धामा नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् ।

बोर्डमा अध्यक्ष पद २०८० पुस महिनादेखि रिक्त छ । अर्थमन्त्रालयबाट बोर्ड सञ्चालक समिति सदस्य बनेका नरेन्द्र कुमार रानालाई अध्यक्षको जिम्मेवारी दिईएको भएपनि उनले बोर्डका दैनिक काम बाहेकमा हात हाल्ने हिम्मत गरेका छैनन् ।

पाँच महिनादेखि बोर्डबाट कुनै पनि कम्पनीले सार्वजनिक निष्काशनका लागि अनुमति पाएका छैनन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार