कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने

विराटनगर । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्ष २०८१÷८२ को  प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उक्त अनुमान गरेका हुन् ।

उनले चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सशर्त अनुदानमा ७ करोड ५५ लाख थप भई कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बताए । यस्तै वैशाख मसान्तसम्ममा कूल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ ।

गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो । चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मगरले गरेका छन् ।

चालू आर्थिक वर्षमा आन्तरिक राजस्व ४ अर्ब ५७ करोड सङ्कलन हुने अनुमान गरिए पनि वैशाख मसान्तसम्ममा ३ अर्ब ३ करोड २३ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षमा भने २ अर्ब ९४ करोड प्राप्त भएको थियो । राजस्व सङ्कलनमा भने ३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार