वायु सेवा निगमले जाहज खरिद गर्दा लिएको ऋण तिरेन, ब्याज र जरिवाना गरी ४४ अर्ब आर्थिक भार निगममाथि 

काठमाडौं । नेपाल वायु सेवा निगमले हालसम्म एयरबस ३२० को दुई थान र एयरबस ३३० को एक थान जहाज खरिद गर्दा लिएको ऋण , ऋणको ब्याज र जरिवाना भुक्तानी गरेको छैन । निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई बुझाउनु पर्ने साँवा, ब्याज र जरिवानासमेत गरी कुल ४४ अर्ब २ करोड ३६ लाख ६८ हजार रुपैयाँ भुक्तानी नगरेको हो । निगमले सबै दायित्व लेखांकन गरी कार्ययोजना बनाई समय मै ऋण भुक्तानी गर्नुपर्ने देखिन्छ, महालेखाले आफनो ६१औं प्रतिवेदनमा भनेको छ ।

निगमले एयरबस ३२० को दुई थान जहाज खरिद गर्नका लागि कर्मचारी सञ्चयक कोषसँग ९ अर्ब ९८ करोड ११ लाख १७ हजार रुपैयाँ ऋण लिएको थियो । नेपाल सरकारको १० अर्ब रुपैयाँ जमानीमा निगमले उक्त ऋण प्राप्ति गरेको हो । एयरबस ३३० को एक थान जहाज खरिद गर्नका लागि ११ अर्ब ९९ करोड ६१ लाख ३० हजार ऋण सम्झौता गरेको थियो । उक्त ऋणको लागि पनि नेपाल सरकारले १२ अर्ब रुपैयाँको ऋण जमानी बसेको थियो । २०७९ असारमसान्तसम्म निगमको सञ्चय कोषसँग ब्याज र जरिवाना गरी कुल दायित्व ऋण २७ अर्ब ४४ करोड २३ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै,निगमको लागि वाइडबडी एयरबस ए–३३० जहाज खरिद गर्न नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याज र जरिवाना समेत गरी कुल ऋण दाियत्व १६ अर्ब ५८ करोड १२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । सम्झौता बमोजिम उक्त विमानको टिकट बिक्रीको ३० प्रतिशत विशेष खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा निगमले उक्त सम्झौता कार्यान्वयन गरेको छैन ।

निगमले एयरबस खरिद गर्दा मात्र नभई ट्वीनटर विमान खरिद गर्दाको साँवा र ब्याज भुक्तानी गरेको छैन । साँवा र ब्याज सम्झौता अवधिभन्दा ३ वर्ष बढी समयसम्म पनि भुक्तानी भएको छैन । निगमले जहाज खरिद गर्दा भ्रष्टचार गरेको समेत आरोप लाग्दै आएको छ । एकतर्फ ऋण लगानी गर्दै आएको निगम अर्कोतर्फ भ्रष्टचारको आरोप समेत खेपी रहेको अवस्था रहेको छ, जसले गर्दा निगम आर्थिक रुपमा बलियो बन्ने भन्दा पनि निरहि रहने अवस्था रहेको छ ।

त्यस्तै, परिपक्व ऋण अन्तर्गत नेपाल सरकारको जमानीमा ट्वीनअटर विमान खरिद गर्न क्यानडा सरकारबाट २ करोड ८७ लाख ८३ हजार रुपैयाँ तथा नेपाल सरकारबाट राजस्व बक्यौता भुक्तानी गर्न र ७४८ एभ्रो विमानको भाडाबापत ऋण कायम गर्न १० वर्षको लागि ५ करोड ३० लाख ९२ हजार रुपैयाँ ऋण लिएको थियो । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम तिर्न १० वर्षको लागि२८ करोड ७४ लाख ५२ हजार रुपैयाँ समेत गरी कुल ३६ करोड ९३ लाख ऋण लिएको छ । उक्त ऋणको साँवा र ब्याज सम्झौता अवधिभन्दा ३ वर्ष बढी समयसम्म पनि भुक्तानी भएको छैन । सम्झौताको शर्तअनुसार भुक्तानी नगर्नेलाई जिम्मेवार बनाई ऋण भुक्तानी हुनुपर्दछ । २०६७ असार १५ गते १० वर्षको लागि ट्वीनअटर विमान खरिद गर्न , २०६२ साउन १३ गते र २०६७ जेठ २५ गते उक्त रकम निगमले लिएको हो । त्यस्तै, निगमले कर्मचारीलाई आवश्यक भन्दा बढी रकम खर्च गर्दा निगममा आर्थिक भार थपिएको छ , यी समस्याहरुको व्यवस्थापन गर्न निगम चुकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार