सेयर कारोबारीबाट सरकारले उठायो ४ अर्ब १५ करोड राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरुले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्।
गत आव २०७९/८० को तुलनामा चालु आवको पहिलो १० महिनामा सेयर लगानीकर्ताले धेरै पुँजीगत लाभकार बुझाएका छन्। गत आवमा ३ अर्ब ३८ करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। समीक्षा अवधिमा पुँजीगत लाभकर ७७ करोड ३० लाख रुपैयाँ अर्थात २३ प्रतिशतले बढेको छ।

पछिल्लो पाँच वर्षको पुँजीगत लाभकर वापत सरकारले प्राप्त गर्ने राजस्व उतारचढाव पूर्ण देखिएको छ। आर्थिक वर्ष २०७२/७३ मा सकारले १ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। यस्तै आव २०७३/७४ मा १ अर्ब ४५ करोड रुपैयाँ सरकारले पुँजीगत लाभकर बापत राजस्व संकलन गरेको थियो।

सो पश्चातका दुई आर्थिक वर्षमा पुँजीगत लाभकर घटेको नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा देखिन्छ। आव २०७४/७५ मा ४७ करोड र आव २०७५/७६ मा ६४ करोड पुँजीगत लाभकर सरकारले प्राप्त गरेको छ। आवमा २०७६/७७ मा ९८ करोड ४८ लाख रुपैयाँ राजस्वमा योगदान भएकोमा आव २०७७/७८ मा उल्लेखनीय वृद्धि भई १५ अर्ब ५३ करोड १६ लाख पुँजीगत लाभकर सरकारले प्राप्त गरेको थियो। उक्त आवमा सेयर बजार हालसम्मको उच्चतम वृद्धि ३२०० अंकमा पुगेको थियो। सेयर बजारको उतारचढावले पुँजीगत लाभकरमा असर देखिने गरेको छ। बजार माथिल्लो विन्दु र अधिकतम कारोबार हुँदा पुँजीगत लाभकर वापत सरकारले प्राप्त गर्ने राजस्व पनि वृद्धि हुन्छ।

त्यसपछि आव २०७८/७९ मा सरकारले ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार