११ महिनामा ४४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठमसान्तसम्मको अवधिमा वैदेशिक लगानी स्वरुप ४४ अर्ब ४० करोड ८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता ३ सय ५९ वटा उद्योग र २० हजार १ सय ४६ जनालाई रोजगारी प्रस्ताव सहित आएको बताइएको छ ।

समीक्षा अवधिमा तीन सय ४१ वटा साना , १४ वटा मझौला र ४ वटा ठूला उद्योगका लागि उक्त लगानी प्रतिवद्धता आएको हो । विदेशी लगानीकर्ताहरुले एक सय ७६ वटा पर्यटन, एक सय १४ वटा सेवा, १० वटा सूचना प्रविधि, ४० वटा उत्पादन, ८ वटा कृषि, ७ वटा पूर्वाधार, ३ वटा खनिज र एउटा उर्जा सम्वन्धि उद्योगका लागि उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । विभागले ६ प्रकारका उद्योग दर्ता गर्दा आएको छ भने सोहि अनुरुप विदेशी लगानीकर्ताका उद्योगहरु दर्ता गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंहधामीले बताए । उनले विदेशी लगानी निरन्तर आएको कारण लगानी र उद्योगको संख्या बढ्दै गएको समेत बताए ।

विभागका अनुसार समीक्षा अवधिमा ९ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर पर्चेज सम्झौता (एसपीए) र सेयर सबस्क्रीपशन सम्झौता (एसएसए) सम्झौता गरिएको छ । ५२ वटा उद्योगका लागि एसपीए र एसएसए गरिएको हो । साथै ५६ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५२ वटा उद्योगका लागि ३ अर्ब १ करोड ५६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । उक्त लगानी प्रतिवद्धता २ हजार ३ सय २३ जनालाई रोजगारी सहित आएको हो । जसमा ४६ कराड १० लाख रुपैयाँ बराबरको उद्योगको एसपीए र एसएसए सम्झौता गरिएको छ । ७ वटा उद्योगको टीटीए सम्झौता गरिएको ।

विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन , २०७५ अनुरुप विदेशी लगानी भित्राउने तथा त्यसको व्यवस्थापन गर्दै आएको छ । विदेशी लगानीकर्ताले प्रतिवद्धता गरेको रकम आवश्यकता अनुसार भित्राउन सक्ने छन् । लगानी प्रतिवद्धता पश्चयात लगानी स्वीकृति गराउने परम्परा रहेको छ । लगानी रकम भित्राए पश्चयात भने उनीहरुले लगानी स्वीकृत गर्छन् । उनीहरुले आफूले चाहेको समयमा रकम नेपाल ल्याई आफनो उद्योग तथा व्यवसाय सञ्चालन गर्न सक्नेछन्, निर्देशक धामीले भने । विदेशी लगानीकर्ताले प्रतिवद्धता रकम भित्राउनको लागि सहज भए पनि उद्योग तथा व्यवसायमार्फत प्राप्त आम्दानी अर्थात् मुनाफा लैजानको लागि भने राष्ट्र बैंकमा लेखांकन गर्नुपर्ने हुन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार