अर्थमन्त्री वर्षमान पुनले आफ्नो जिल्ला जोड्ने सडकमा ४ गुणाभन्दा बढी बजेट थपे

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आफ्नो जिल्ला जोड्ने सडकको बजेट बढाएका छन्। अर्थमन्त्री पुनले आफ्नो गृह जिल्ला रोल्पा जोड्ने सहिद राजमार्गका लागि चालु आवको तुलनामा आगामी आवका लागि करिब ४ गुणा थप गरेका हुन्। चालु आवको लागि सहिद राजमार्गका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आवका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

दाङ, अर्थमन्त्री पुनको गृह जिल्ला रोल्पा र पूर्वी रुकुम जोड्ने २२० किलोमिटर सहिद राजमार्ग निर्माणका लागि अर्थमन्त्रीले ठूलो अंकमा बजेट विनियोजन गरेका हुन्। बहुवर्षिय ठेक्का अन्तर्गत आर्थिक वर्ष २०६४/६५ मा सहिद राजमार्ग निर्माण सुरु गरिएको थियो। आर्थिक वर्ष २०८६/८७ सम्पन्न गर्ने लक्ष्य राखिएको सहिद राजमार्गको अनुमानित लागत करिब ११ अर्ब १७ करोड रुपैयाँ छ।

हालसम्म निर्माणधिन सडकको वित्तीय प्रगति ३२ प्रतिशत रहेको सहिद राजमार्ग आयोजना प्रमुख नेत्रप्रसाद देवकोटाले जानकारी दिए।

सहिद राजमार्ग सडक २१.५ किलोमिटर दाङ, १२१.५ किलोमिटर र ७७ किलोमिटर पूर्वी रुकुममा पर्छ।

२०९ किलोमिटर सडक खण्डमा ट्याक खोल्ने काम सम्पन्न भइसकेको छ। हुकामदेखि मैकोट खण्डमा ११ किलोमिटर ट्याक खोल्न बाँकी छ।
आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा ७५ किलोमिटर सडक कालो पत्रे गर्ने गरी चार प्याकेजमा ठेक्का लागेको छ। एउटा ठेक्का असारमा सम्पन्न हुनेछ। अर्को एउटा ठेक्का आगामी आवको मंसिरमा सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ। भने बाँकी २ ठेक्का आव २०८२/८३ वैशाखसम्मा सम्पन्न हुनेछ। हालसम्म २५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। चालु आव भित्रमा थप ५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सहित काम भइरहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए।

‘चालु आवमा सडक निर्माणका लागि ३० करोड विनियोजन भएको थियो। उक्त रकम सबै खर्च भइसकेको छ। थप १५ करोड रुपैयाँ माग गरेका छौं। उक्त रकम विनियोजन हुने आशमा काम अघि बढाइएको छ,’ देवकोटाले भने, ‘मौसमले साथ दिएमा चालु आव भित्रमा कुल ३० किलोमिटर सडक कालोपत्रे हुन्छ।’

सुरुवाती चरणमा सहिद राजमार्ग घोराही, नुवागाउं, तिला, घर्तीगाउँ, थवाङ, मुसिकोट हुँदै मैकोट जोड्ने गरी डिजाइन गरिएको थियो। पछि आयोजनाको डिजाइन परिवर्तन गरेर थवाङबाट मुसिकोट नजोडेर महत, काँर्की, तक्षरा, हुकाम, मैकोट जोड्ने गरी डिजाइन पनि परिवर्तन गरिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार