बैंक तथा वित्तीय संस्थाद्धारा बिना धितो साढे ३ अर्ब कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बिना धितो साढे ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले बिना धितो ३ अर्ब ५८ करोड ४८ लाख ६४ हजार रुपैयाँ कर्जा वितरण गरेका छन् । उनीहरुले ३ हजार ५ सय ४० जना ऋणीलाई बिना धितो कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकले २० वटा वाणिज्य बैंक १९ वटा विकास बैंक, १८ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त कम्पनीहरुमार्फत् उक्त कर्जा प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षक अन्तर्गत बिनो धितो उक्त रकम वितरण गरेका हुन् । जसमा वाणिज्य बैंकले बिना धितो २ हजार ५ सय ३७ जनालाई २ अर्ब ७८ करोड ४४ लाख ३९ हजार रुपैयाँ, विकास बैंकले बिना धितो ९ सय ९६ जनालाई ७९ करोड ५१ लाख ८० हजार रुपैयाँ र वित्त कम्पनीहरुले बिना धितो ७ जनालाई ५२ लाख ४५ हजार रुपैयाँ वितरण गरेका हुन् । लघुवित्तले भने उक्त रकम वितरण नगरेको बताइएको छ ।

समीक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत धितो सहित १ खर्ब १५ अर्ब २२ करोड २४ लाख ८० हजार रुपैयाँ वितरण गर्दा बिना धितो ३ अर्ब ५८ करोड ४८ लाख ६४ हजार रुपैयाँ वितरण गरेको हो । जसमा वाणिज्य बैंकले धितो सहित ४१ हजार ७ सय ७४ जनालाई १ खर्ब ३ अर्ब १४ करोड ४४ लाख २५ हजार रुपैयाँ, विकास बैंकले धितो सहित ३ हजार २ सय ७४ जनालाई १० अर्ब ४५ करोड ६२ लाख २६ जार रुपैयाँ र वित्त कम्पनीहरुले धितो सहित ४ सय ५२ जनालाई १ अर्ब ५९ करोड ८५ लाख ३८ हजार रुपैयाँ र लघुवित्तहरुले २३ जनालाई धितो सहित २ करोड ३२ लाख ९० हजार रुपैयाँ वितरण गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको समयमा बिना धितो ऋण प्रवाहले थप समस्या निम्तने देखिन्छ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा करिब ४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.९८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.३४ प्रतिशत रहेको थियो । तुलनात्मक अध्ययन गर्दा बैंक तथा वित्तीय संस्थाको हाल खराब कर्जा बढेको छ । विज्ञहरुका अनुसार घरजग्गामा गरेको लगानीका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न पुगेको हो । बैंक तथा वित्तीय संस्थाललाई अनुउत्पादक क्षेत्रको रुपमा रहेको घरजग्गामा लगानी नगर्न विज्ञ तथा सरोकारावालाहरुको आग्रहलाई वेवास्ता गर्दै आएको कारण खराब कर्जा बढेको पाइन्छ । अर्कोतर्फ बजार चलायमान हुन सकेको छैन सर्वसाधारणहरु पर्ख र हेरको स्थितिमा रहेको हुदाँ बजारबाट उद्योरो उठ्न नसक्दाको मार समेत बैंक तथा वित्तीय संस्थाले भोग्नु परेको विज्ञहरुको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार