सार्वजनिक निष्कासन स्वीकृत हुन थाल्यो, १०० रुपैयाँमा आईपीओ ल्याउने कम्पनी प्रथामिकतामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति दिन थालेको छ। झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो।

सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। सेबोनले शुक्रबार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै निष्कास प्रक्रिया पुन खुला गरेको हो। सेबोनले हिमालयन ऊर्जा विकास कम्पनीलाई एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्कासन अनुमति दिएको हो। हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद जारी गर्ने स्वीकृत पाएसँगै अन्य कम्पनीहरुले पनि क्रमिक रुपमा सार्वजनिक निष्कासन अनुमति पाउने भएका छन्।

निष्कासन स्वीकृति दिँदै जाने भनिए पनि बोर्डले अहिलेलाई भने बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई भने स्वीकृति नदिने योजना बनाएको सेबोनका निर्देशक तथा प्रवक्ता डा. नवराज अधिकारीले बताए।। “त्यस्ता कम्पनीहरूको हकमा कसरी अघि बढाउने भन्ने विषयमा बोर्डले निर्णय गर्नेछ। त्यसबाट केही सैद्धान्तिक सहमति वा निर्णय भयो भने त्यही अनुसार अघि बढ्छ,” डा. अधिकारीले भने।
बोर्ड स्रोतका अनुसार लेखा समितिले पछिल्लो समय संशोधन भएका नियमावली तथा निर्देशिकालाई पहिलेकै अवस्थामा फर्काउन निर्देशन दिएकाले यसबारेमा थप अध्ययन गरेर मात्र अन्य कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिने योजना छ।

आगामी दिनमा फेस भ्यालु एक सय रुपैयाँमा नै शेयर निष्कासन अनुमति मागेका कम्पनीले पहिलो प्राथमिकता पाउने छन्। तर बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनी, प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनी र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको हकमा नयाँ अध्यक्ष नआएसम्म थप निर्णय नलिने बोर्डको योजना छ। ।
धितोपत्र बोर्डको पाइपलाइनमा हाल विभिन्न क्षेत्रसँग सम्बद्ध ३५ वटा कम्पनी आईपीओ निष्कासनको अनुमतिमा छन् भने हकप्रद शेयर निष्कासनतर्फ १२ वटा कम्पनी छन्।थप सार्वजनिक निष्कासन(एफपीओ) तर्फ ५ वटा कम्पनी पाइपलानमा छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार