CLI

किसानले पाउन थाले प्रतिगोटा अन्डाको साढे १६ रुपैयाँ

चितवन । चितवनका किसानले पाँच वर्षपछि अन्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।

किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट ९३० वटाको० ठूलो चार सय ९५ र मध्यम चार सय ७० रुपैयाँ पाउन थालेका छन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए ।

‘२०७६ सालमा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अन्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेको थियो,’ उनले भने । त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ ।

 

२०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर संघ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अन्डाको मूल्य प्रतिक्रेट दुई सय ३० रुपैयाँ थियो । उक्त मूल्यमा अन्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।

उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसा नै छाडेको अवस्था थियो । उनले भने, ‘हामी संगठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अन्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।’

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए ।

पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो संख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ ।

अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अन्डा उत्पादन भइरहेको उनले जानकारी दिए । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको संख्या घटेको उनले बताए ।

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान संगठित भई प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अन्डाको अवैध आयात घटेको बताउँछन् । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो ।

उनले भने, ‘हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरूले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।’

Leave Your Comment

Related News